सामाजिक सुरक्षामा प्रतिबद्ध

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल उद्योग परिसंघले सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको योगदानमा आधारित सुरक्षा योजना कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिबद्धता जनाएको छ।

आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित अन्तक्र्रियामा परिसंघले योजना कार्यान्वयन तहमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने जानकारी गराएको हो।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पेस गर्नुभयो।

परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा, विदेशी कामदारको प्रश्न, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा रोजगारदाता तथा श्रमिकका सुझाव समेटेर प्रतिवेदन तयार गरेको थियो।

अध्यक्ष मोरले परिसंघका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेन्टी हुँदा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताउनुभयो।

सो अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रमलाई आकर्षक र प्रतिफलमुखी बनाउँदै जान सरकार तयार रहेको बताउनुभयो।

नेपालको सन्दर्भमा सामाजिक सुरक्षा नयाँ कार्यक्रम भएकाले यसमा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि मन्त्री विष्टले व्यक्त गर्नु भयो।

सो अवसरमा मन्त्रालयका सचिव विनोद केसी, सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले सुरक्षा कोष कार्यान्वयमा देखिएका व्यवहारिक कठिनाइ समाधानबारे भएका पहलबारे जानकारी गराउनु भएको थियो।