कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्यो : नेता रिजाल

0
Shares

न्युज अफ नेपाल,पोखरा।

नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताउनु भएको छ ।

कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आउनु भएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाउनु भयो ।

चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी नेता रिजालले कम्युनिष्टको यस्तै रवैयाले जनता आजित र निराश भएको समेत दावी गर्नु भयोे ।

नेपालको नयाँ संविधान लोकतान्त्रिक संविधान हो, कम्युनिष्ट संविधान नभएको भन्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धति अनुसार नै अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले आम जनतामा छाएको निराशालाई उत्साहमा परिणत गर्न कांग्रेसले निर्वाचन जित्नै पर्छ ।

त्यागी र निष्ठावान नेता खेमराज पौडेललाई चुनाव जिताएर देशैभर सन्देश दिन आवश्यक रहेको भन्दै रिजालले जनताले पनि कम्युनिष्टलाई मन पराउन छाडेको दावी गर्नुभयोे ।

मुलुकमा जसरी भ्रष्टाचार बढेको छ, जसरी विकास निर्माणका काम अवरुद्ध छन्, मुलुकको हित विपरितको गतिविधि भएका छन् त्यसलाई रोक्न कास्की–२ का जनताले सहि नेतृत्व रोज्नुपर्ने आवश्यकता रहेको पुष्ठि गर्नुभयो ।

कास्की कांग्रसको चुनाव प्रचार अभियान अन्तर्गत आज मंगलबार दिनभर पोखरा–१७ का मतदातासंग भेटघाट गर्ने कार्यक्रम छ ।

घरदैलो अभियान कांग्रेस नेता डा. रिजाल, उम्मेदवार खेमराज पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका कमाण्डर कृष्ण केसीसहित नगरसभापति वजीरमान श्रेष्ठ, नेता देवराज चालिसे, वडा सभापति देवराज आचार्य लगायत नेता कार्यकर्ता पनि सहभागी छन् । पोखरा–१७ को नेतृत्व पनि कास्की सभापति केसीले नै गर्नुभएको छ ।

मतदातामा पनि उत्साह

पोखरा–१७ मा घरदैलो चल्दै गर्दा सोही क्षेत्रका ९२ वर्षीय टंकनाथ लम्साल पनि सहभागी हुनुभयो । यसक्रममा उनको हातमा रुद्राक्षको माला थियो ।

उहाँले आफू आजीवन कांग्रेसको पक्षमा उभिएको बताउदै मुलुकमा कांग्रेसबाहेक अन्य पार्टीबाट केही आशा गर्न नसकिने बताउनु भयो ।

संविधान कांग्रेसको पालामा बनेको भन्दै लम्सालले २४० वर्षको राजतन्त्र अन्त्य पनि कांग्रेसकै अगुवाईमा भएको हो ।

आफू चुनाव प्रचारमा कहिल्यै नहिंडेको भन्दै उहाँले यस पटक त्यागी नेता खेमराज पौडेल उम्मेदवार बनेकाले आफूलाई निकै खुशी लागेको छ ।

‘पार्टीले पूराना मान्छेलाई बल्ल चिनेको छ, त्यही खुशीमा म पनि खेमराजलाई आशिर्वाद दिन यहाँ आएको हुँ’, उहाँले भन्नुभयो ।

त्यागी नेता खेमराजलाई जसरी पनि जिताउनै पर्ने भन्दै उँहाले खेमराजलाई जिताउन नसकिए त्यो भन्दा ठूलो अन्याय केही हुदैन ।