बैैंकहरू निजी कम्पनी होइनन् : गभर्नर


नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थानहरू निजी कम्पनी हुन् नसक्ने बताउनुभएको छ।

समृद्धि फाइनान्स कम्पनीेको उद्घाटनको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रबाट खोलिए पनि सर्वसाधारण जनताको पैसा हुने हुँदा बैंक तथा वित्तीय संस्था सार्वजनिक हुने बताउनुभयो।

उहाँले बैंक तथा वित्तीय संस्थालाई धेरै नाफा कमाउन नखोज्न सुझावसमेत दिनुभयो। उहाँले बैंक तथा वित्तीय संस्थाले धेरै नाफा खोज्दा समस्या निम्तिन थालेको बताउनुभयो।

उहाँले भन्नुभयो–‘ धेरै नाफा कमाउनु छ भने अन्तै बिजनेस गर्नुहोस्।’
गभर्नर डा. नेपालले जनताको निक्षेप संकल गर्ने र परिचालन गर्ने गरी खोलिएका वित्तीय संस्थानले आफूखुशी निक्षेपको दुरुपयोग गर्न नपाउने बताउनुभयो।

‘जनताको पैसाबाट वित्तीय कारोबार सञ्चालन गर्ने कुनै पनि संस्थानहरू निजी हुन सक्दैनन्।

यसमा जनताको पैसा हुने हुँदा सरकार र केन्द्रीय बैंकको समेत जिम्मेवारी रहन्छ,’ गर्भनर नेपालले भन्नुभयो–‘पैसा कमाउने र बिजनेस गर्ने उद्देश्य हो भने बैंक तथा वित्तीय कम्पनी नखोल्नुस् अर्कै व्यवसाय अंगाले हुन्छ।

यसमा राष्ट्र बैंकको कडा निगरानी रहन्छ।’कार्यक्रममार्फत नेपालले बैंक तथा वित्तीय संस्थानको जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंकले पनि केही लचकता अपनाउने गरेको उहाँले बताउनुभयो।

केही समय अघि समस्याग्रस्त अवस्थाबाट डुब्न लागेका बैंक तथा वित्तीय संस्थानलाई पनि राष्ट्र बैंकले अवसर दिएको बताउँदै उहाँले कम्पनीलाई सुरक्षित भएर आर्थिक कारोबार गर्न आग्रह गर्नुभयो।