हेटौंडामा सरकारको कामको समिक्षा

0
Shares

हेटौंडा, (नेस)।
नेपाली कांग्रेसले हेटौंडामा वर्तमान सरकारको कामको समिक्षासहित आफ्ना प्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने भएको छ ।यसका लागि पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय टोली मंगलबार हेटौंडा आउने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हुने प्रशिक्षण कार्यक्रमका लागि देउवासहितको टोली हेटौंडा आउने भएको हो ।
देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठान प्रमुख एवम् पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालालगायत नेताहरु हेटौंडा आउने हुनुभएको छ ।
हेटौंडामा दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा प्रदेश–३ अन्तर्गत् ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यको सहभागिता रहने सोमबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।
प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका २ सय ९० जना प्रतिनिधि र केन्द्रीय सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।सहभागीलाई प्रतिष्ठान प्रमुख निधि, प्रतिष्ठान सदस्य एवम् राष्ट्रिय योजना आयोग पूर्वउपाध्यक्षहरु डा. गोबिन्द पोखरेल, डा. जगदीशचन्द्र पोखरेल, प्रशिक्षण विभाग कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठान सदस्यहरु डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गर्ने पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बताउनुभयो । यसअघि सात जिल्लाको भेला भक्तपुरमा भइसकेको छ ।
भेलामा नेपाली राजनीतिक वर्तमान अबस्थाबारे चर्चाका साथै प्रतिपक्षी दलले खेल्नुपर्ने भूमिकाबारे केन्द्रीय पदाधिकारीसहित छलफल हुने नेता बानियाँले बताउनुभयो । उहाँले दुई तिहाइ नेतृत्वको सरकार ठीक ढंगले अगाडि बढेको छ/छैन भन्ने विषयको समिक्षा पनि भेला तथा प्रशिक्षणमा हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पूर्वउपसभापति अशोक शाक्य, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपीलाल बिक र प्रवक्ता प्रदीप कोइरालालगायतको सहभागिता थियो ।