भगौडा सेनानी तिवारी पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

विदेश तालिममा गएर फरार भएका नेपाली सेनाका प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई पक्राउ गरी कारबाही शुरू गरेको छ। २०७३ चैत्र १८ गते जापान गएका सेनानी तिवारी तालिमपश्चात कार्यालयमा हाजिर हुनुपर्नेमा गैर हाजिर भएको भन्दै उनलाई पक्राउ गरी कारबाही अगाडि बढाएको सैनिक मुख्यालयले जनाएको छ।

गत भदौ पक्राउ परेका सेनानी तिवारीलाई समरी जनरल सैनिक अदालतले नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिई सकेर आफ्नो अनुकूल हुने किसिमको जिम्मेवारी नपाएको भन्दै संस्थालाई आरोप लगाई नेपाली सेनामा कार्यरत रहेको अवस्थामा नै थापाथली इन्जिनियरिङ क्याम्पसमा विभागीय स्वीकृती नलिई व्यक्तिगत आर्थिक फाइदा हुने नियतले आंशिक अनुसन्धान सुपरभिजन गर्नुका साथै उक्त कलेजमा प्राध्यापकको पदमा स्थायी नियुक्ती लिई ‘भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेका’ भनी दोषी ठहर गरेको छ।

तिवारीलाई ६ महिना कैद र भगौडा भएको मितिदेखि भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको छ। नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका समेत लागू गरी राम्रो काम गर्नेलाई पुरस्कारमार्फत प्रोत्साहन गर्ने तथा गल्ती गर्नेलाई नियम बमोजिम कडा कारबाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दै आइरहेको सन्दर्भमा सैनिक सेवाबाट आफूखुसी भगौडा भएका जो कोही सैनिक व्यक्तिलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारबाही गर्ने सैनिक मुख्यालयले जनाएको छ।