गृहमन्त्री बादल र चीनका उपमन्त्री झेङबीच भेटवार्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका आपतकालीन व्यवस्थापन मन्त्रालयका उपमन्त्री झेङ गोगुआङले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले गत महिना चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा विपद् व्यवस्थापनसम्बन्धी दुई देशबीच सम्झौता भएको स्मरण गर्दै सो सम्झौता कार्यान्वयनको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो।

प्राकृतिक विपद्का घटना दुवै देशको साझा समस्या रहेको भन्दै अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।

गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुनर्निर्माणलगायतका क्षेत्रमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा आफूहरूले गरेको बताउनुभयो।

भेटवार्तामा उपमन्त्री झेङले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल–चीनबीच सहकार्यमा जोड दिँदै विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाइने जानकारी दिनुभयो।

उहाँले केही समयपछि विपद् व्यवस्थापनसम्बन्धी मन्त्रीस्तरीय सम्मेलन चीनमा आयोजना हुन लागिरहेको जानकारी दिँदै सो सम्मेलनमा उपस्थितिका लागि गृहमन्त्री थापालाई निम्ता दिनुभयो।