आलमका कानुन व्यवसायीले गरे बहस

0
Shares

सञ्जय कार्की, रौतहट।

प्रतिवादी बनाइएका निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमका तर्फबाट कानुन व्यवसायीले सोमबार बहस पैरवी गरेका छन्। घटना प्रकृति मुचुल्का अलग अलग बनाएर आफूले आफूलाई नै विश्वास नगरीकनै घटनामा सामेल नभएका निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई राजनीतिकरूपमा दोषी देखाउनु न्यायोचित नभएको बहस उनका पक्षधर कानुन व्यवसायीले गरेका छन्।

निर्वाचनमा पराजय भएका तत्कालीन नेकपा एमालेका उम्मेदवार शैलेन्द्र साहलाई साक्षीको रूपमा उभ्याएर जनताको मत पाएका उम्मेदवार मोहम्मद अफताब आलमलाई दोषी करार गर्नु न्यायोचित नभएको आलम पक्षधर कानुन व्यवसायीको जिकिर रहेको छ।

यसैबीच कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्ध बयान दिने भनिएका भारतको विहार राज्यका सीतामढी ग्राम मुसाचौक बैरगानिया निवासी गौरीशंकर राम चमारले घटनाको विषयमा आफूलाई थाहा नभएको भन्दै सोमबार अदालत पुगेर निवेदन जाहेर गर्नै लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको छ।

राजपुरमा भएको बम विस्फोटमा घाइते भएको भन्दै उनलाई प्रहरीले साक्षीका रूपमा लिएको थियो।रामले आफू बम विस्फोटबाट नभई स्टोभ पड्केर घाइते भएको कागजात अदातलमा पेस गरेका हुन्।

०६४ चैत २७ गते बम विस्फोटमा मारिएको आरोप लगाइएको ओसी अख्तरका श्रीमती अमना खातुनले भने आफ्नो श्रीमान् वैदेशिक रोजगारीमा नै रहेको जाहेर अदातलमा दिएकी छन्।

यसैबीच निलम्बित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलमका पक्षधर कानुन व्यवसायी वरिष्ठ कानुन व्यवसायी शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी र कृष्ण घिमिरेले निशर्त रिहाइका लागि बहस गरेका हुन्।

बहस गर्ने क्रममा उनीहरुले प्रजातन्त्रका लागि सदैब ज्यानको आहुती दिन तयार हुने निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई राजनीतिक प्रतिशोधबाट दबाउने प्रयास गरिएको तर्क राखेका थिए। प्रहरीको अनुसन्धान र जिल्ला न्यायाधिवक्ताको अनुसन्धानमा कतै पनि मोहम्मद अफताब आलमको नाम उल्लेख नभएको जिकिर उनीहरुको रहेको थियो।