मोटरसाइकल जोगाउँदा बस खस्यो

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे।

बनेपाबाट नेपालथोक जाँदै गरेको यात्रुवाहक बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई धुलिखेल अस्पतालबाट नर्भिक रिफर गरिएको छ।

‘बनेपाबाट नेपालथोक जाँदै गरेको बसले भकुण्डेबाट बनेपातर्फ आउँदै गरेकोे बसलाई साइड दिन लाग्दा ओभरस्पिडमा आएको मोटरसाइकल ठोक्किन खोजेको र त्यसलाई जोगाउन खोज्दा बस तल खस्यो’, यात्रु पंकज तामाङले भन्नुभयो– ‘सडक तल रहेको ठूलो रूखका कारण ठूलो मानवीय क्षति हुनबाट बचायो, रूख भाँचिएकाले बस विस्तारै गुड्यो।’

घटना भएलगत्तै स्थानीय र प्रहरी प्रमुख एसपी जयराज सापकोेटाको टोली घटनास्थल पुगी उद्धारमा खटिएको थियो।घाइतेमध्ये तेमाल घर भएका १८ वर्षीय विवेक तामाङ गम्भीर हुनुुहुन्छ। उहाँलगायत अन्य दुई घाइतेको अवस्था गम्भीर भएकाले रिफर गरिएको धुलिखेल अस्पतालले जानकारी दिएको छ।

टाउकोमा चोट लागेकाले उनीहरूको होस अझै खुल्न सकेको छैन। अन्य घाइतेहरूको अवस्था मध्यम रहेकाले उपचार भइरहेको छ। अधिकांशको टाउको, हात र ढाडमा चोट लागेको छ। घाइतेमध्ये अधिकांश पुरुष छन्। तीन यात्रु महिला सामान्य छन्। बस सडकबाट २ सय मिटरभन्दा तल पुगेको एसपी सापकोटाले जानकारी दिनुभयो।

काभ्रेमा पछिल्लो समय यात्रुवाहक बस दुर्घटना हुने क्रम बढेको छ। सिन्धुपाल्चोकको मेलम्चीबाट आउँदै गरेको बस दशैंको समयमा दुर्घटना हुँदा दर्जनभन्दा धेरैको ज्यान गएको थियो भने केही दिनअघि सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा एकै स्थानमा १७ जनाको ज्यान गएको थियो।