कोल्टीको आकस्मिक प्रसूति केन्द्र अलपत्र

0
Shares

दयाराम पण्डित, बाजुरा।

बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन हुने भनिएको आकस्मिक प्रसूति सेवा अझै सञ्चलनमा आउन सकेको छैन। आवश्यक दक्ष जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा प्रसूति सेवाकेन्द्र अलपत्र परेको हो। बाजुरालगायत हुम्ला, मुगुका नौ वटा स्थानीय तहका महिला आकस्मिक प्रसूति सेवाबाट वञ्चित भएका हुन्।

बाजुराको भौगोलिक विकटतालाई मध्यनजर गर्दै स्वास्थ्यसेवा विभागबाट गत वर्षदेखि उक्त सेवा सञ्चालन ल्याउने नीति कार्यक्रम तथा बजेट स्वीकृत भएको स्वास्थ्य सेवा विभाग सियस कार्यक्रमका संयोजक डा. इन्द्रप्रसाद प्रजापतिले बताउनुभयो। यद्यपि आकस्मिक प्रसूति सेवा सुचारु गर्न तारन्तार ताकेता गर्दा पनि जिल्लास्तरबाट सुनुवाइ भएको छैन।

खरिद गरेका उपकरण जिल्ला स्वास्थ्य कार्यालयमै थन्किएका छन्। सियस सघन प्रसूति शल्यक्रिया कक्षका लागि डाक्टरको पनि अभाव छ। ‘तीन लाख रुपियाँ तलब दिन्छु भन्दा पनि डाक्टर बाजुरा जान मानिरहेका छैनन् तैपनि म डाक्टरको खोजीमा छु’ –संयोजक प्रजापतिले भन्नुभयो।

उपकरण नै नजोडीकन डाक्टरले के काम गर्छ ? डाक्टर प्रजापतिको प्रतिप्रश्न छ। आकस्मिक प्रसूति सेवाकेन्द्रका लागि गत वर्षको बजेट पनि फ्रिज गयो। यो वर्ष पनि जनशक्ति व्यवस्थापनका लागि तीस लाख रुपियाँ स्वीकृत भएको छ। आर्थिक वर्ष शुरु भएको चार महिना बितिसके पनि प्रसूति सेवा सुचारु गर्ने कुनै सुरसार छैन।

ग्रामीण क्षेत्रका महिलालाई मध्यनजर गरी स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा सञ्चालन गर्ने नीति कार्यक्रम तथा बजेट जिल्ला स्वास्थ्य कार्यालयसँग छ। तर दुर्गममा डाक्टर अभावका कारण सेवा सञ्चालनमा ल्याउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अशोककुमार साहले जानकारी दिनुभयो।

सामानका लागि गत वर्ष दुुईपटक बोलपत्र आह्वान गर्दा गत असारमा सामान खरिद ठेक्का स्वीकृत भएको थियो। ‘असार अन्तिममा दश लाख रुपियाँबराबरको सामान त आयो तर, दक्ष जनशक्तिको पाइएन, खोजीमा छौं, सम्पर्कमा कोही आएका छैनन्’ –स्वास्थ्य प्रमुख साहले भन्नुुभयो।

‘गत वर्ष स्थानीय डा. सत्य शाहीलाई करार नियुक्ति गर्न खोज्दा तलबको विषयमा कुरा नमिलेकाले उहाँ बस्न मान्नुभएन’ –बुडीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले जानकारी दिनुुभयो। उहाँले केही दिनमा सामान ढुवानी गरी आवश्यकताअनुसार डाक्टर भर्ना गर्ने बताउनुभयो।

कर्मचारीमाथि आस्था र भनसुनका आधारमा सरुवा नगरी कार्यदक्षताको आधारमा कर्मचारी व्यवस्थापन गर्नुपर्ने बूढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले बताउनुभयो।

पछिल्लो समयमा सुत्केरीको उद्धार गर्न प्रदेशबाट हेलिकोप्टर चार्टर गरिन्छ। वर्षमा चार जना महिलाको उद्धार गर्न लाखौं रुपियाँ खर्च हुन्छ। ‘गत वर्ष पनि बजेट आयो फ्रिज भयो। यो वर्ष पनि बजेट त आएको छ आकस्मिक प्रसूति सेवा भने सुचारु हुने नहुने थाहा भएन।

काम गर्नुपर्यो बजेट अभाव हुँदैन’ –कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख धनबहादुर थापाले भन्नुुभयो।कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ८÷९ घण्टाको पैदल दूरीको बाटो हिँडेर दिनमा २०/२५ जना प्रसव पीडाका महिला आउँछन्।

कतिपयलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ। तर हालै मात्र बूढीनन्दा नगरपालकाका लागि खरिद गरिएको एम्बुलेन्स धनगढी, कञ्चनपुरलाई दिएपछि बाजुरा कुण्डाक्षेत्रका बिरामीले थप सास्ती बेहोर्नुपरेको छ।