प्रहरीले फाँड्यो २१ बिगाहाको गाँजा


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा प्रहरीले करिब २१ बिगाहा क्षेत्रको गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएका ६० जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौंडा हेडक्वार्टर मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक फलबहादुर थापाको कमाण्डमा खटिएका २१ जनाको टोलीले अवैध गाँजा फँडानी गरी नष्ट गरेको हो ।

४ वटा टोलीमा विभाजित भएर प्रहरीले लागुऔषध गाँजा तथा अफिम खेती फँडानी एवम् अवैध उत्पादन, सञ्चय तथा ओसारपसार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरी कार्यान्वयन गर्ने सम्बन्धमा निर्देशानुसार काम गरेको हो ।

मकवानपुरको लागुऔषध अतिप्रभावित राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा अवैधरुपमा लगाइएका गाँजा र अफिमजस्ता लागुऔषध फँडानीका लागि दोस्रो चरणमा प्रहरी उक्त स्थानमा पुगेको हो ।

गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा समुदाय–प्रहरी साझेदारीअन्तर्गत् विभिन्न समितिहरुसँगको सहकार्यमा लागुऔषध नियन्त्रणमा आमसमुदायको भूमिकाबारे छलफलसमेत गरी कानुनी व्यबस्था र यसका नकारात्मक प्रभावबारे जनचेतनामूलक पर्चा÷पम्प्लेट बितरण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रनि श्रेष्ठको कमाण्डमा ३० जनाको दुई टोली र सशस्त्र प्रहरी बलको गण हेटौंडा हेडक्वार्टरबाट सप्रनि थापाको कमाण्डमा खटिएको ७ जनाको संयुक्त टोलीले राक्सिराङ गाउँपालिका–१ को घ्याङ्सिङटार र खोलाटारमा ११ बिगाहा गाँजा फँडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रनानि बिगनेश झाको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपालको गण हेटौंडा हेडक्वार्टरबाट खटिएको ७ जनाको संयुक्त टोलीले गाउँपालिका–४ को यदुखोलामा बिगाहा गाँजा फँडानी गरी नष्ट गरेको छ ।

शनिबार इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रनानि राजेन्द्रबहादुर आलेको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बलबाट खटिएको ७ जनाको संयुक्त टोलीले राक्सिराङ–७ को बान्द्राङमा ७ बिगाहा गाँजा फँडानी गरी नष्ट गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।