केसीको समर्थनमा डडेल्धुरा बजार बन्द, सरकारी गाडी चलाउन रोक


राम धामी, डडेल्धुरा ।

डडेल्धुरा सदरमुकामबाट १७ औँ पटकको सत्याग्रह थालेका चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता प्रा.डा गोविन्द केसीले बर्तमान सरकार दम्भमा रहेका कारण देशको शिक्षा र स्वास्थ्य नीति राम्रो बन्न नसकेको बताएका छन् ।

सत्याग्रहका क्रममा हाल सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा रहेका डा केसीले आइतबार अपरान्ह सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जुम्लामा थालेको आमरण अनसनमा पनि सरकारले जबरजस्ती गरेको बताए ।

आफु आफ्ना मागहरुप्रति प्रतिबद्ध भएर लाग्ने जनाउँदै उनले सरकारलाई अझै कडा भन्दा कडा मागहरु राख्ने बताए ।

उनले प्रत्येक नागरिकले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनुपर्ने बताउँदै नेपालीहरुले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई जनताको मालिक होइन सेवक भएर काम गर्न जनताले भोट दिएको स्मरण गराए ।

सर्वसत्तावादी हुँ भन्ने कम्युनिष्ट सरकार माफियाहरुसँग मिलेर सत्ता चलाउन खोजेको समेत उनले बताए ।

डा. केसीका सबै माग सरकारले तत्काल पुरा गर्नुपर्ने भन्दै नागरिक समाज र व्यवसायीक तथा पेशागत संघ संस्थाहरुको अगुवाईमा डडेल्धुरावासीले प्रदर्शन गर्दै आएका छन् ।

डा. केसीले सत्याग्रह थालेको सात दिनसम्म पनि सरकारले कुनै प्रतिक्रिया नजनाएपछि सदरमुकाम बागबजारमा आइतबार झुरो (सल्लाको दियालो) जुलुस निकालिएको छ ।

विद्युत नहुँदा सुदूरपश्चिमवासीले झुरो बालेर उज्यालो बनाउँथे । सल्लाको रुखबाट निकालिने झुरो जल्ने भएकाले उज्यालोका लागि प्रयोग हुँदै आएको थियो ।

सरकार अध्यारोमा सुतेकाले झुरो बाली बिउझाउन झुरो जुलुस निकाएको प्रदर्शनका अगुवा डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए ।

प्रदर्शनकारीले राँको बाली बागबजार क्षेत्र परिक्रमा गर्दा प्रहरीले हस्तक्षेप गर्न खोज्दा सामान्य झडक भएको थियो । प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि प्रहरीविरुद्ध समेत नाराबाजी गरिएको थियो ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले दिनभर सरकारी गाडी चलाउन रोक लगाएका थिए भने व्यवासायीहरुले आन्दोलनमा समर्थनगर्दै दिउसो बजार बन्द गरेका थिए । एम्वुलेन्सवाहेक अन्य सवारी साधन समेत प्रर्दशनका क्रममा ठप्प रहे ।

झुरो जुलुश प्रदर्शन पश्चात सदरमुकामस्थित भिमदत्त चोकमा आयोजित कोणसभालाई सम्बोधनगर्दै नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डा. केसीले जनताका माग राखेर सत्याग्रह गर्दा सरकारसँग भएका सम्झौताहरु अक्षरशः कार्यान्वयन हुनुपर्ने बताए ।

 

डा. केसीले मुलुकको संविधान अनुसार शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच हुनुपर्ने माग उठाउदा सरकारले वेवास्ता गर्न नहुने जिकिर गरे ।

प्रजातान्त्रिक शिक्षक संघ डोटीका अध्यक्ष लोकराज भट्टले डा केसीका मागहरु जायज भएको भन्दै गरिब र निमुखाका लागी उनको अभियान भएकोले यसमा सबैले साथ दिनुपर्ने बताए ।

यस अघि १६ पटकसम्म अनसन बस्दा चिकित्सा शिक्षा र स्वास्थ्य उपचारमा सबैको समान पँहुचका माग राखी आन्दोलित डा. केसीले यस पटक सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा वा डोटीमा मेडिकल कलेज निर्माण र कर्मचारी समायोजनका कारण डडेल्धुरा अस्पताललगायत देशभरिका अस्पतालहरुमा चिकित्सक अभाव रहेकाले दरबन्दी अनुसार पदपुर्ती गर्नुपर्ने माग उनको छ ।

सरकारले माग सम्बोधनका लागि चासो नदेखाएको भन्दै डडेल्धुराबासीहरुको आन्दोलन कडा बन्दै गएको छ । डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेका कारण रिफर गर्ने तयारी भईरहेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।