रुपन्देही व्यापार संघमा चुनावी सरगर्मी सुरु


यमलाल भुसाल, बुटवल ।

रुपन्देही व्यापार संघको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन अन्तरगत हुन लागको निर्वाचनको कार्यक्रम आज आइतवारबाट सुरु भएको छ ।

यही कार्तिक २८ गते नया नेतृत्व चयनका लागि हुने निर्वाचनको पूर्व घोषित कार्यक्रम अनुसार आज मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन समितिका संयोजक यमलाल खनालले बताउनु भयो ।

निर्वाचन कार्यक्रम अनुसार भोली सोमवार उम्मेदवारी दर्ता हुने छ । आज सार्वजनिक गरिएको मतदाता सूची अनुसार संघमा कुल १४ सय ३५ मतदाता रहेका छन् ।

संघको १० औं अधिवेशनबाट आगामी ३ बर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव, सहकोषाध्यक्षसहित २५ सदस्यिय नया नेतृत्व निवार्चित हुने संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।

संघको नया नेतृत्वको लागि व्यवसायीहरुको चुनावी चहल पहल सुरु भएको छ । नया नेतृत्व सर्वसम्मत बनाउने प्रयास भैरहेको संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले बताउनु भयो ।