मणिग्राममा माछापुच्छ्रेको १ सय २६ औं शाखा


यमलाल भुसाल,बुटवल ।

माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत मणिग्राममा १२६ औं शाखा कार्यालय स्थापना गरेको छ ।
मणिग्राम शाखा कार्यालयको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले सबै क्षेत्रका जनतालाई वित्तीय पहुँच पुर्याउनुपर्नेमा जोड दिंदै सर्वसाधारणलाई सहज ढंगले सेवा प्रदान गर्न आग्रह गर्नु भयो ।

उहाँले उद्योग, व्यवसाय, कृषि, महिला उद्यम जस्ता क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलव्ध गराएर उद्योगी व्यवसायी उत्पादन गर्न पनि आग्रह गर्नु भयो ।

नेपाल राष्ट्रबैंक भैरहवा शाखाका निर्देशक राजेन्द्र भट्टराईले मुलुकभर वित्तीय पहुँच वृद्धि हुँदै गएको, प्रदेश पाँचका सबै स्थानीय तहमा बाणिज्य बैंकको पहुँच पुगेको उल्लेख गर्दै कृष, उद्योग र स्वरोजगारमूलक व्यवसायको क्षेत्रमा लगानी बढाउन आग्रह गर्नु भयो ।

बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले बैंक उद्योगी र व्यापारी जन्माउने संस्था भएको भन्दै व्यवसाय गर्न चाहनेका लागि वित्तीय संस्थाबाट प्राप्त हुने कर्जा सबैभन्दा सजिलो र भरपर्दो माध्यम हुने बताउनु भयो ।