कुटनीतिक पहलबाट सीमा बिवाद समाधान नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्छः नेतृ संग्रौला


यमलाल भुसाल, बुटवल ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाल भारतका बिचमा देखिएको सीमा बिवाद समाधानकालागि उच्च स्तरीय कुटनीतिक प्रयासबाट नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सुझाव दिनुभएको छ ।

सीमा बिवाद समाधानकालागि सरकारका तर्फबाट उच्च स्तरीय कुटनीतिक पहल गर्नुपर्ने र कुटनीतिक पहलबाट नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सरकारलाई सुझाव दिनुभएको हो ।भारतीय हस्तक्षेपबारे नेपालका प्रधानमन्त्रीले नरेन्द्र मोदीसंग ‘वान टू वान’ वार्ता गर्नुपर्ने सुझाव उहांँले बताउनु भयो ।

उहांले भारतीय प्रधानमन्त्री मोदीसंग आँंखा जुधारएर बार्ता गर्नुपर्ने भन्दै त्यसमा कांग्रेसको साथ र समर्थन हुने धारणा राख्नु भयो ।
उत्पन्न सीमा बिवाद समाधानकालागि सत्ता पक्ष वा प्रतिपक्षको एकल प्रयासबाट नहुने बताउँदै संघीय संसदकी सदस्य समेत रहनु भएकी नेतृ संग्रौलाले सरकारको तर्फबाट उच्च स्तरीय कुटनीतिक पहल हुनु पर्ने बताउनु भएको हो ।

उहाँले नेपाली भूमिलाई आफ्नो राखेर आफनो नक्सा सार्वजनिक गरेको र भारत र चीनबिच उक्त भूमिलाई व्यापार नाका बनाउने सहमति भएकाले चीनसंग समेत कुटनीतिक पहल हुनु पर्ने बताउनु भएको हो ।

रिपोटर्स क्लवले आईतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पूर्ववर्ती सरकारले गरेका निर्णय उल्ट्याएर सरकारले गलत नजिर स्थापित गरेको समेत आरोप लगाउनु भयो । उहाँले प्रश्न गर्दै भन्नुभयो–‘गलत नजिर स्थापित गरेर स्थिरता र स्थायित्व कहाँबाट आउँछ ?’
त्यस्तै नेकपाकी केन्द्रीय सदस्य पूर्व सांसद सीता पौडेलले पछिल्लो समय उत्पन्न भएको सीमा विवाद समाधानकालागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

उहाँले लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरुलाई भारतले अहिले आफ्नो नक्सामा पारेकाले पेचिलो बिषय बनेपनि सबै सीमा क्षेत्रमा उत्तिकै समस्या रहेकाले त्यसका बिरुद्ध सबै एक हुनुपर्ने भनाई राख्नुभएको हो ।

अहिले दुई तिहाईको कम्युनिष्ट सरकारले धेरै राम्रा काम गरेपनि प्रचारमा नआएकाले नदेखिएको बताउँदै उहाँले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रतालाई कसरी जोगाउने भन्नेमा सबैको ध्यान जानुपर्ने भनाई राख्नुभयो ।

रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका प्रदेश ५ सदस्य कपिल ज्ञवालीले गर्नु भएको थियो ।