चिलिमे जलविद्युत कम्पनिले २५ प्रतिशत लाभांश बाँडने


सरस्वति न्यौपाने, रसुवा

रसुवामा तीन वटा र सिन्धुपाल्चोकमा एउटा जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनि चिलिमे जलविद्युत कम्पनिले गत वर्षको मुनाफाबाट सेयर धनिलाई २५ प्रतिशत लाभांश दिने तयारी गरिरहेको छ ।

नेपालको जलविद्युत इतिहासमा कम्पनि ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत कम्पनिले आर्थिक वर्ष ०७५÷०७६ को मुनाफा बाट सेयर धनि लाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कार्तिक २५ गते सोमबार सम्पन्न कम्पनि सञ्चालक समिति को बैठक ले पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनिका सचिब नारायण प्रसाद आचार्यले बताए ।

कम्पनिले २३ करोड ७९ लाख ६ हजार ७ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश र ९५ करोड १६ लाख २७ हजार १ सय ५६ रुपैयाँ बराबर सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनिको आगामी मंसिर ११ गते बस्ने २३ औँ बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गर्ने छ । कम्पनिको हाल चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७ सय ७२ रुपैयाँ छ ।

कम्पनिका तीन साहायक कम्पनिले चार जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । रसुवामा कुल एक सय ११ मेगावाटको रसुवागढी ,४२ दशमलव ५ मेगावाट क्षमताको निर्माणाधीन तल्लो साञ्जेन र सिन्धुपाल्चोक मा १०२ मेगावाट क्षमताको मध्ये भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । तीमध्ये साञ्जेन र रसुवागढी जलविद्युत अन्तिम चरणमा पुगेको छ ।