विजेता खेलाडीलाई सम्मान


न्युज अफ नेपाल, हेटौंडा ।

रियो छमछमी मेघा डान्स प्रतियोगितामा पहिलो हुन सफल हेटौंडाकी खेलाडी सन्ध्या आचार्यलाई सम्मान गरिएको छ । मकवानपुर जिल्लाकी एथ्लेटिक्स राष्ट्रिय खेलाडी आचार्यलाई शनिबार सम्मान गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा मकवानपुर एथ्लेटिक संघले उनलाई सम्मान गरेका हुन् । एथ्लेटिक्स संघ जिल्ला अध्यक्ष प्रभाकर पाण्डेको सभाध्यक्षता तथा प्रदेश–३ खेलकुद विकास परिषद् सदस्य माधब तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सन्ध्यालाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।

हेटौंडा–८, कमानेकी २१ वर्षीया आचार्यले नेपाल टेलिभिजनबाट प्रसारण भएको मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन–४ जितेकी हुन् । उनी नृत्यमा मात्र होइन, खेलकुदमा पनि उत्तिकै सक्रिय छिन् । मकवानपुरकी चर्चित एथ्लेटका रुपमा चिनिने उनले मकवानपुर जिल्लास्तरीय खेलकुद प्रतियोगितामा धेरै पटक स्वर्ण तथा कास्य पदक जितेकी छन् ।

उनले राष्ट्रिय प्रतियोगितामा समेत ३ पटकसम्म सहभागिता जनाइसकेकी छन् । उनी स्वतन्त्र विद्यार्थी युनियन वर्ष खेलाडीसमेत हुन् । उनी क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा ५ स्वर्ण र २ रजत जित्न सफल भएकी थिइन् । यसअघि मकवानपुरको मनहरी निवासी सरोज प्रजाले छमछमीको तेस्रो सिजन जितेका थिए । सन्ध्या यो यात्रालाई दोहोर्याएकी हुन् ।

आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुका साथै विभिन्न व्याबसायिक विज्ञापनमा समेत अभिनय गरेकी सन्ध्या विज्ञानकी विद्यार्थी हुन् । उनी हेटौंडा–२ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसमा बीएससी चौथोे वर्षमा अध्ययनरत् छिन् ।