एम्बुस हमलामा ३७ कामदार मारिए

0
Shares

बुर्किना फासो (एजेन्सी)।

बुर्किना फासोमा एक क्यानाडाली कम्पनीका कामदारहरुमाथि भएको एम्बुस हमलामा कम्तिमा ३७ को मृत्यु भएको बताइएको छ। यो पश्चिम अफ्रिकी देशमा विगत करिब पाँच वर्षमा भएको सबैभन्दा घातक आतंकवादी हमला हो।

देशको पूर्वी क्षेत्रका गभर्नर सेदोउ सानोउले बुधबारको उक्त घटनामा कामदार बोकेका पाँच बसमाथि एम्बुस थापी आक्रमण गरिएको जानकारी दिए। उक्त बसमा स्थानीय कामदार र ठेकदार सवार रहेका थिए।

उक्त हमलामा कम्तिमा ३७ को मृत्यु भएको र ६० घाइते भएको उनले जानकारी दिए। सेनाको सुरक्षामा गइरहेका ती ५ बसमाथि तापोआ प्रान्तको बौंगोउस्थित सुन खानीबाट करिब ४० किलोमिटर दुरीमा आक्रमण भएको खानी कम्पनी समाफो इंकका मालिकले बताए।

बसका पछाडि आइरहेको सेनाको एक गाडी पनि बिस्फोटको चपेटामा परेको सुरक्षा सुत्रले जानकारी दिएको छ।

एम्बुमा परेका बसमध्ये दुईवटामा गोलाबारी पनि भएको नाम उल्लेख नगर्ने सर्तमा एकजनाले बताए। सुरक्षा बलले उद्धार तथा खोजी अभियान थालिसकेको बुर्किना फासो सरकारले जानकारी दिएको छ।

विगत १५ महिनामा समाफोमाथि भएको यो तेस्रो घातक हमला हो। यो कम्पनीको बुर्किना फासोमा २ खानी छन्। यो भन्दा अगाडि पनि त्यस क्षेत्र भएर गुड्ने गाडीमा धेरै पटक घातक हमला भइसकेको छ।