जनताको घर-घरमा पुगेर सेवा दिन्छौंः प्रजिअ कुरुम्बाङ्


अमृत अर्याल, स्याङ्जा ।

सरकारले गरेको ७७ जिल्लाकै सिडियोको कार्य सम्पादनको नतिजामा उत्कृष्ट भएका रामबहादुर कुरुम्बाङ् स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिनुभएको छ । यस भन्दा अगाडी बर्दियामा कार्यरत प्रजिअ कुरुम्बाङ् सरकारले हालै गरेको सरुवामा उहाँको जिम्मेवारी स्याङ्जा तोकिएको हो ।

स्याङ्जाको प्रजिअको जिम्मेवारी लिएर कार्यभार सम्हालेका कुरुम्बाङ् जिल्लाका जनप्रतिनिधि, पत्रकारहरु, राजनीतिकदलका प्रतिनिधि, उद्योगी व्यवसायी, कर्मचारीहरु सगँको भेटघाट तथा जिल्लाको बस्तुस्थितीका बारेमा बुझ्न व्यस्त हुनुहुन्छ ।

जिल्लाका पत्रकारहरु सगँ भेटघाट गर्दै प्रजिअ कुरुम्बाङ्ले जिल्लाको शान्ति सुरक्षा, सुशासन, भष्ट्रचार रोक्ने, विकास निमार्ण, नागरिकको कामलाई छिटोछरितो सेवा प्रवाह, कालो बजारी लगायतका विषयमा आफ्नो ध्यानाकर्षण हुने बताउनुभयो । म प्रशासक नभएर जनताको सेबक हुँ उहाँले भन्नुभयो,“सिडिओलाई शासकको रुपमा समेत हेरिने गरिन्छ तर म जनताको सेवकको रुपमा हेरिने बातावरण बनाउनेछु ।” सरकारी कामको निगरानी मात्रै नभएर समग्र विकास निर्माण देखि अनियमितताका बारेमा निगरानी राख्न उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संचारकर्मीहरु सगँ भएको छलफलममा प्रजिअले शुसासन कायम गर्न पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । खराब चरित्रलाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गर्दै प्रजिअ कुरुम्वाङ्ले खोज पत्रकारीता गर्न जिल्लाका सबै संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । त्यसका लागि म बाटै खोज पत्रकारिताको सुरुवात होस कुरुम्बाङ्ले भन्नुभयो ।

भष्ट्राचारका बिरुद्ध पत्रकार साथीहरुले कलम चलाउन भन्दै कुरुम्वाङ्ले पत्रकारको सुरक्षामा आफुले कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मिडिया र कर्मचारी मिलेर काम गर्न आफु तयार रहेको उहाँले बताउनुभयो ।

जनप्रतिनिधीहरुले कार्ययोजना बनाउने, बजेट ल्याउने हो प्रजिअ कुरुम्बाङ्ले भन्नुभयो,“त्यसको कार्यन्वयन कर्मचारीतन्त्रले गर्नुपर्छ भन्ने अनुभव हामी सगँ छ ।” भष्ट्रचार आफुले पनि नगर्ने र अन्यबाट भएको थाहा पाए नछाड्ने आफ्नो पहिलो काम हुने उहाँले बताउनुभयो ।

पैसाको लेनदेनलाई मात्रै भष्ट्रचार हो भन्ने मेरो मान्यता छैन सरकारले दिएको जिम्मेवारीमा तलमाथी गरेपनि भष्ट्रचार गरेको ठहर हुने छ यसका लागि जिम्मेवार रहन प्रजिअले आग्रह गर्नुभयो ।

आफु म्याग्दीमा प्रजिअ हुँदा शुरु गरेको एकिकृत घुम्ति शिबिर प्रभावकारी भएको भन्दै स्याङ्जाका घर—घरमा गएर जनताको सेवा गर्ने अभियानमा रहेको उहाँले बताउनुभयो ।

देशमै पहिलो पटक आफुले शुरु गरेको स्मरण गर्दैै प्रजिअ कुरुम्वाङ्ले घुम्ति शिविरलाई जिल्लामा पनि निरन्तरता दिने बताउनुभयो । प्रजिअ संघको मात्र नभई प्रदेश र स्थानिय तहको पनि प्रतिनिधि हो उहाँले भन्नुभयो,“सबै सँग सहकार्य गर्दै नतिजा निकाल्ने गरी आफूले काम गर्ने छु ।”

नागरिक र कर्मचारी विचको सम्वन्ध नजिक भयो भने मात्रै सुशासन कायम हुने भन्दै जिल्लामा रहेका कर्मचारीहरुलाई जनतालाई मुस्कान सहितको सेवा दिन आग्रह गर्नुभयो । कार्यक्रममा वालिङ नगरपालिका मेयर दिलिप प्रताप खाँण, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा लगायतले बोल्नुभएको थियो ।

यसअघि स्याङ्जाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्दै नव आगन्तुक प्रजिअ कुरुम्वाङ्ले सेवा प्रवाह प्रभावकारी बनाउन सबैलाई आग्रह गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

जनताको सेवकको रुपमा कर्मचारीहरुलाई काम गर्न प्रजिअले निर्देशन दिएको सुवेदीले बताउनुभयो । २०६६ सालबाट प्रजिअको जिम्मेवारी पाएको बताउदै कुरुम्वाङ्ले २०५५ सालमा निजामती कर्मचारीबाट सेवा प्रवेश गर्नुभएको थियो ।

तेह्रथुममा २०२७ सालमा जन्मेका कुरुम्बाङ्ले २०४९ सालबाट चार बर्ष नेपाल आर्मीमा अधिकृत भएर काम गर्नुभएको थियो ।