हेटौंडामा ‘गो ब्याक इण्डिया’


न्युज अफ नेपाल, हेटौंडा ।

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको भन्दै हेटौंडामा ‘गो ब्याक इण्डिया’ को नारा लगाइएको छ । मकवानपुरका विद्यार्थीले भारतको विस्तारवादी नीतिको विरोध गर्दै नेपालको भूभाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।

सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुआवद्ध विद्यार्थीले नेपाली भूभाग अतिक्रमण गरिएको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन् । हेटौंडाका विभिन्न क्याम्पसबाट क्याम्पस पोशाकमै विद्यार्थी भारतीय दादागिरीविरुद्ध उत्रेका हुन् ।

नेकपाका युवा तथा विद्यार्थी नेताहरुले भारतले जारी गरेको नक्सामा नेपालको भूभागलाई गाभेकोप्रति आक्रोश व्यक्त गर्दै विश्वको कुनै लडाईंमा नझुकेको नेपालको भूमि हत्याउने प्रयास नगर्न भारत सरकारलाई चेतावनी दिए ।

अनेरास्ववियु मकवानपुरले गरेको विरोध प्रदर्शनपछि हेटौंडाको बुद्धचोकमा भएको कोणसभामा मकवानपुरका युवा तथा विद्यार्थी नेताहरुले भारतको रवैयाको आलोचना गरेका हुन् । उनीहरुले नेपालको भूमि रक्षाका लागि आफूहरु मर्नसमेत तयार रहेको बताए । उनीहरुले भारतको भूभागलाई नेपालमा गाभ्न सक्षम रहेको उल्लेख गरे ।

उनीहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यङ्ग्य गर्दै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । खराब छिमेकीको बानी नदेखाउन आग्रह गर्दै नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्नसक्ने क्षमता रहेको उनीहरुले बताए ।