राजनीतिभन्दा माथि उठेर डा. केसीको आन्दोलनमा सघाउन काँग्रेस डडेल्धुराका सभापतिको आग्रह


राम धामी, डडेल्धुरा ।

नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले राजनीतिभन्दा माथि उठेर सत्याग्रही डा. गोविन्द केसीको आन्दोलनलाई सघाउन सबैलाई आग्रह गरेका छन् ।

मंगलबार पहिलो पटक डा.केसीलाई सत्याग्रहस्थलमै पुगेर भेटघाट गर्दै नेपाली काँग्रेस डडेल्धुराका तर्फबाट डा. केसीको सत्याग्रहमा एक्यवद्धता जनाएका मल्ल बुधबार बेलुकी दोस्रोपटक डा. केसीलाई भेटन सत्याग्रहस्थल पुगेका थिए ।

स्वास्थ्यमा समस्याका कारण बोलचाल बन्द गरेका डा. केसीसँग साँसद मल्लको कुराकानी भने हुन सकेन् । बुधबार बेलुकीसम्म डा. केसीको स्वास्थ्यमा निकै समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बुधबार बेलुकीसम्म डा. केसीको स्वास्थ्यमा समस्या थपिएको बताए । “न्युन रक्तचाँपका कारण उँहालाई रिंगटा लाग्न थालेको छ भने शरिर निकै कमजोर र सिथिल भएकाले बोलचाल बन्द गर्न सुझाव दिएका छौ ।” उनले भने,“सत्याग्रहस्थलमा अत्याधिक चिसो भएकाले उँहाको स्वास्थ्य अबस्था झनै बिग्रने र जटिल बन्नसक्ने खतरा छ ।”

चिकित्सा शिक्षामा सुधारका लागि पटक पटक सत्याग्रहमा उत्रिएका डा. केसीको १६ औं पटकको सत्याग्रहका क्रममा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको काँग्रेस सरकारसँग भएको सहमतिअनुसार अध्यादेश ल्याइएको भए पनि कानून बनाउन नसकिएकाले बर्तमान सरकारले डा. केसीसँग हालसम्म भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने काँग्रेस सभापति तथा प्रदेश सभा साँसद मल्लले बताए ।

उनले गरिबीका कारण केहि विपन्न मानिसहरु र अध्यात्ममा लागेका केहि सन्यासीहरु नांगो देखिने गरेको भए पनि बर्तमान सरकार सत्याग्रही डा. केसीका जायज मागको सुनवाई नगरेर झनै नागिंदै गएको जिकिर गरे । “दुई तिहाई बहुमतको बर्तमान सरकार जनविरोधी कृयाकलापका कारण हरेक घटनाक्रमहरुमा नांगिदै गईरहेको छ,” मल्लले भने, “डा. केसीले नेपाली जनताका पक्षमा उठाएका जायज मागहरु सम्बोधन नगरेर सरकार झन नांगो भएको छ ।” उनले डा. केसीले नेपाली जनताका पक्षमा उठाएका मागहरु चाँडै सम्बोधन गर्न बर्तमान सरकारलाई सदवुद्धी प्राप्त होस भन्ने कामना ब्यक्त गरे ।

डा. केसीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा मेडिकल कलेज हुनुपर्ने मागसमेत थपेर सत्याग्रहका लागि डडेल्धुरा जिल्लालाई छनौट गरेकोमा धन्यवाद ज्ञापनगर्दै उनले जिल्लास्थित सामाजिक संघ संस्थाहरु, अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, जनप्रतिनिधीहरुसहित सबै जिल्लाबासीलाई डा. केसीको आन्दोलनमा सहयोग पु¥याउन हार्दिक अपिल गरेका छन ।