न्युज अफ नेपाल, काठमाडौं ।
भक्तपुरस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सका ३०जना विद्यार्थीहरु अन्यायमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन्। कलेजको कारण अलपत्र परेको भन्दै उनीहरूले बुधबार माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
कलेजले आफूमाथि गरेको ठगीका विषयमा सीटीईभीटी र शिक्षा मन्त्रालय समक्ष अवगत गराउँदा पनि कारबाही नभएको उनीहरुको आरोप छ । उनीहरुका अनुसार कलेजले पीसीएल नर्सिङ पढाउने भन्दै ३ लाख ११ हजार रुपैयाँका दरले असुलेको थियो ।
४० प्रतिशत रकम सुरुमा बुझाउनुपर्ने भए पनि कलेजले ६० प्रतिशत मागेको थियो । सीटीईभीटीमा रजिष्ट्रेसन भइरहेको बताउँदै आस्वस्त पारेपछि विद्यार्थीहरु भर्ना भएका थिए । तर, कलेजले सीटीईभीटीमा उनीहरुको नाम दर्ता नै गरेको रहेनछ ।
विगत लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा मन्त्रालय धाइरहेका उनीहरु अन्तिम विकल्पको रुपमा आन्दोलनमा उत्रिएको बताउँछन् ।
कलेजले पटक–पटक आफ्नो नीतिनिर्देशन विपरीतका गतिविधि गरेको, विद्यार्थी भर्ना समेत जारी राखेको गरेको, मापदण्ड पूरा नगरेको भन्दै सीटीईभीटीले २०७४ सालमा सो कलेजको सम्बन्धन खारेज गरेको थियो ।











प्रतिक्रिया