रानी भन्सारबाट ३७ प्रतिशतले आयात घट्यो, तीन महिनामा ६५ अर्बको आयात


न्युज अफ नेपाल, विराटनगर

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा यस वर्षको पहिलो तीन महिनाको व्यापारमा केही सकारात्मक सुधारको संकेत देखापरेको छ । पूर्बी नेपालको विराटनगरस्थित रानी भन्सार नाकाबाट पहिलो तिन महिनामा आयात ३७ दशमलव २५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्षको पहिलो तीनमहिना साउनदेखि असोजसम्म आयात ३३ दशमलव १६ प्रतिशत रहेको छ । गत वर्षको पहिलो तीन महिनामा आयात ७० दशमलव ४१ प्रतिशत रहेको थियो । रानी भन्सार कार्यालयका अनुसार सो अवधिमा निर्यात १६.६८ प्रतिशतले बढेको छ । रानी भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलका अनुसार अहिलेकै अवस्था अनुसार बाँकी ९ महिना पनि आयातको अबस्था स्थिर रहेमा व्यापार–घाटा कम हुने देखिन्छ ।

तथ्यांकअनुसार गत वर्षको पहिलो तीन महिनामा ६५ अर्ब ६२ करोड रुपैयाँका सामग्रीहरू रानी भन्सार नाकाबाट आयात भएको थियो । निर्याततर्फ ६ अर्ब ३७ करोड रुपैयाको माल बस्तु निकासी भएको थियो । जसमा व्यापार–घाटा ५९ अर्ब २५ करोड रहेको थियो । यसपटक ५२ अर्ब २५ करोड रुपैयाँका सामग्री मात्रै आयात भएको छ । निर्यात ७ अर्ब ७५ करोड रुपैयाको माल बस्तु निकासी भएको छ ।

व्यापार–घाटापनि ४४ अर्ब ४९ करोड रुपैयामा झरेको छ । भन्सार प्रमुख मिमांसु अधिकारीले सरकारले इनर्जी ड्रिंक्स, जंक फुड आयात बन्द गरेकाले आयात घट्दै गएको बताए। गत वर्ष भन्दा यो बर्ष सवारी साधन र स्पेयर्स पार्टसहरूको आयातमा पनि कमी आएको छ ।

भन्सार अधिकारीका अनुसार राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले अध्ययन गरी आयात रोक लगाउने सामग्रीहरूको सूची सिफारिस गरेको थियो । उक्त आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक), प्लास्टिक, लाइटलगायत विभिन्न सामग्रीहरू आयातमा पूर्ण रूपमा बन्देज लगाएको छ ।

पहिलो तीन महिनाको अवधिमा रानी नाकाबाट पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्नलगायतको आयात उच्च छ। पहिलो नम्बरमा इन्धन आयात रहेको छ । भन्सार कार्यालयका अनुसार गएको बर्ष विराटनगर नाका भएर नेपालका लागि ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलिय पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात भएको थियो ।

पूर्वकै सबैभन्दा ठूलो सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्र पनि यही रहेको छ । जहाँ साना ठूला गरी करिव सात सयको संख्यामा उद्योगहरु रहेका छन् । बिराटनगर भन्सार कार्यालयका अनुसार गएको बर्ष भारतबाट २९ प्रतिशत, चीनबाट ७ प्रतिशत र अन्य मुलुकबाट १७.४ प्रतिशतले आयात बढेको थियो । तर यो आर्थिक बर्षको तिन महिनामा भारतबाट आयात हुने बस्तुमा निकै कमी आएको छ ।

जसको कारण व्यापार–घाटामापनि कमी देखिएको हो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत पौडेलले अघिल्लो आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।सोही अवधिमा १७ अर्ब ८९ करोड ७४ लाख रुपैयाँको वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो ।

लक्ष्यमा पुग्न सकेन

रानी भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य भने भेटाउन सकेको छैन। आर्थिक बर्षको पहिलो महिना साउनमा २ करोड ७१ लाख मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले साउन महिनामा ३ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । त्यसैगरी भदौ महिनामा ४ करोड ९७ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेपनि ३ करोड २८ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । कात्तिक महिनामा ४ करोड ९७ लाख राजस्व उठाउने लक्ष्य राखेको भन्सार कार्यालयले २ करोड ४७ लाखमात्र राजस्व संकलन गरेको छ ।