ढुवानी साधनको अनलाइन प्रणालीसम्बन्धी उद्योगी व्यवसायीसँग अन्तरक्रिया


प्रताप बानियाँ, म्याग्दी ।

वेभमा आधारित ढुवानी साधनहरुको अनलाइन अनुगमन प्रणाली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवल र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सदरमुकाम बेनीमा बुधबार उद्योगी व्यवसायीहरुबीच अन्तरक्रिया तथा छलफल गरिएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो साउन महिनादेखि नै वेभमा आधारित ढुवानी साधनको अनलाइन प्रणाली सेवा कार्यान्वयनमा ल्याएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्योगी, व्यवसायीहरुको कठिनाई र समस्यालाई समाधान गर्नका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले सरकारले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीको प्रयोग गर्न आग्रह गर्दै नियम अनुसार व्यवसाय गर्नुपर्ने बताए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खुला सिमानामा भन्सार छलीका गतिविधिहरु हुन सक्ने बताउँदै त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिनका लागि भौतिक रुपमै उपस्थित हुनुपर्ने धारणा राखेका छन् । उनले व्यापारमा नाफाको प्रतिशत बजारको मागले निर्धारण गर्ने हुँदा दुर्गम क्षेत्रमा सामान ढुवानीका लागि पूर्वाधारहरु बनाउनुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दैै राजश्व अनुसन्धान कार्यालय रुपन्देही बुटवलका शाखा अधिकृत सुशील पनेरुले अनलाइन अनुगमन प्रणाली व्यापारीहरुका लागि फेसबुक चलाए जस्तै सजिलो रहेको बताएका छन् । उनले अनलाइन सिस्टममा गएपछि व्यापारी आफूले गरेको व्यापारको दर तथा राज्यलाई कर तिरेको विषयमा समेत जानकारी पाइने भएकाले सहज र झन्झटमुक्त हुने बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले आफूहरु राज्यले ल्याएको नीति अनुसार अगाडि बढ्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि उद्योगी, व्यवसायीमैत्री नीतिनियम आवश्यक रहेको माग गरेका छन् ।

कार्यक्रममा सहभागी म्याग्दी जिल्लास्थित उद्योगी, व्यापारीहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यको अध्यक्षता, महासचिव लिलाराम गौतमको सञ्चालन र प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले समापन गरेका थिए ।