दोस्रो मेयर कप टेबुल टेनिस कार्तिक २३ गते शुरु हुने

नगद पुरस्कार न्यून रहेकोमा चिन्ता


न्युज अफ नेपाल, ललितपुर ।

सप्ताहव्यापी दोस्रो मेयर कप २०७६ टेबुल टेनिस प्रतियोगिता यही कार्तिक २३ गते शनिबार ललितपुरको नागबहालमा शुरु हुने भएको छ ।

जिल्ला टेबल टेनिस संघ र ईतिल्हन युथ क्बलको आयोजनामा हुन लागेको हो सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइयो । हरेक दिन साँझ ५ बजेदेखि ६ बजेसम्म हुने सो खेलमा मेन्स टिम इभेन्ट, मेन्स सिंगल, डभल, वमेन, जुनियर गरी १२ प्रकारका ईभेन्ट हुने छन् । सो प्रतियोगितामा १ देखि २९ वडाका करिब ४ सय खेलाडी सहभागी हुने राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका क्षेत्रमा टेबुल टेनिस खेलको विकासको लागि गत वर्षदेखि सो प्रतियोगिताको थालनी भएको थियो । गत वर्ष महानगरपालिका –११ मा सो प्रतियोगिता भएको थियो । यस खेल सञ्चालनका लागि कुुल लागत ८ लाख ५० हजार रुपैयाँ रहेकोमा ललितपुर महानगरपालिका – १६ वडाले २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको पनि पत्रकार भेटघाटमा जानकारी गराइयो । प्रतियोगिताको नाम मेयर कप भएकोले ललितपुर महानगरपालिकाबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त हुनेमा आशावादी रहेको पनि बताइएको छ ।

यसैबीच खेलको नाम मेयर कप राखिएपनि लागत रकम जुटाउन धौं धौ परेको सम्बन्धमा आयोजकहरुले चिन्ता व्यक्त गरेका छन् । रकम अभावले गर्दा प्रतियोगिता विजयी खेलाडीहरुलाई आकर्षक नगद पुरस्कार दिन नसकेको बताएका छन् । प्रतियोगिताका विजयी खेलाडीहरुलाई सिंगल ईभेन्टमा प्रथम १० हजार रुपैयाँ, द्वितीय ५ हजार रुपैयाँ र तृतीय हुने खेलाडीलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने तय गरिएको छ ।

मयेर कप नाम राखिएपनि प्रायोजक खोज्नुपर्ने बाध्यतालाई कसरी लिने भन्ने पत्रकारको जिज्ञासामा ललितपुर महानगरपालिका – १६ वडाअध्यक्ष एवं आयोजक समितिका अध्यक्ष निर्मलरत्न शाक्यले यस विषयमा महानगरपालिकासंग कुराकानी भइरहेको जानकारी दिँदै पर्याप्त रकम उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।