कात्तिक नाचको चौथो दिनमा सति जाने परम्परालाई नाचमा देखाइयाे


ललितपुर ।
ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज चौथो दिन बाथःप्याखँ (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको छ ।

पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ सातबजेदेखि कात्तिक नाच हुँदै आएको छ । सो नाचको कथामा तीन जना बाठा दाजुभाई हुन्छन् । यी तीन मध्ये एक जनाले बाठो भएर अर्काे गाउँमा गई एउटी केटी बिहे गरेर ल्याउँछ । बिहे गरेको केही समयपछि सो पुरुषको मुत्यु भई सति गएको कुरालाई नृत्यमा मञ्चन गरी देखाइने पाटनका ७२ वर्षीय वृद्ध सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।

आजको नाचमा मुख्य गरी तीन जना दाजुभाईको बठ्याइँलाई उल्लेख गरी परापूर्वकालमा महिलाले पतिको स्वर्गारोहण भएपछि सती जानुपर्ने कुरालाई नाचमा मञ्चन गरिने पाटनका वृद्धवृद्धाको भनाइ छ । सो कथामा पात्रको आउने जाने क्रम रहँदा कूल १६ जना कलाकारको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो ।

गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो दिन बाथ प्याखँ मञ्चन भइसकेको छ । विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्लपूर्णिमासम्म देखाइने सो नाच यो वर्ष कात्तिक शुक्लपञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो ।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले करीब पौने चारसय वर्ष अगाडि कात्तिक नाच शुरुआत गर्नुभएको हो । शाक्यले भन्नुभयो, “यस नाचको आफ्नै धार्मिकविधि रहेकाले यसलाई ‘कार्तीप्याखाँ’ अर्थात ‘कात्तिकनाच’ भन्ने गरिएको हो ।”

सत्रौँ शताब्दीमा शुरु भएको कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ ।

नाचको माध्यमबाट जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई पनि देखाउने गरेको समितिले जानकारी दिएको छ । उपत्यकाको तीनै सहरबाट साँझमा कात्तिक नाच हेर्ने एक हजार ५०० देखि दुई हजार मानिस भित्रिएका वृद्ध डङ्गोलको भनाइ छ । उहाँले भन्नुभयो, “विगतका वर्षको तुलनामा यो वर्ष पाटनमा धेरै मानिस भित्रिएका छन् । यो नाच हेर्न स्वदेशी व्यक्तिका साथै विभिन्न मुलुकबाट आएका विदेशी पर्यटकले पनि डबली भरिएको छ ।” पाटनमा कात्तिक नाच हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गरेको छ ।