इण्डोयुरोलोजी सम्बन्धी विश्व सम्मेलनमा नेपाली युरोलोजिष्ट आमन्त्रित !


न्युज अफ नेपाल, काठमाडौँ ।

इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा यहि कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इण्डोयुरोलोजिष्टहरूको ३७ औं विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो चिकित्सकीय कार्यपत्र प्रस्तुत गरेका छन् ।

नेपाली युरोलोजिष्ट (मूत्र प्रणाली रोग विशेषज्ञ÷शल्यचिकत्सक) हरूमध्ये उक्त विधाको विश्व सम्मेलनमा आमन्त्रित भई स्रोत व्यक्तिका रुपमा कार्यपत्र प्रस्तुत गर्ने नेपाली चिकित्सा इतिहासमै पहिलो बन्न सफल बरिष्ठ मूत्र प्रणाली रोग विशेषज्ञ डा.सञ्जय खड्गी हुन् । डा. खड्गी मूत्र प्रणाली रोग उपचारमा उत्कष्ट प्रविधि मिनी पि.सि.एन.एल.मा तालिमप्राप्त भई उक्त प्रविधिमा विशेष विशेषज्ञता राख्ने पहिलो नेपाली इण्डोयुरोलोजिष्ट पनि हुन् ।

उक्त सम्मेलन सानो प्वाल पारेर वा थोरै चिरफार गरेर दूरविनका माध्यमबाट गरिने मूत्रप्रणालीको पत्थरीको उपचारमा समर्पित विश्वभरका मूत्रप्रणाली रोग विशेषज्ञ (इण्डोयुरोजोजिष्ट) हरुको प्रमुख भेला हो । यो उपलब्धिले वर्तमान हस्तीहरुलाई एकत्रित पार्दै रोगको उपचारमा भए÷गरिएका नवीनतम् प्रयोग एवम् प्रविधिवारे सूचना आदान–प्रदान गर्छ । अनुभव साटासाट गर्ने र भविष्यको कार्यदिशा तयगर्ने गर्दछ । उक्त विश्व सम्मेलनमा मूलतः इण्डोयुरोलोजिक, ल्यापारोस्कोपिक, रोबोटिक (रोबोटको सहायताले गरिने शल्यक्रिया) र उपचारमा विकसित अन्य नवीनतम् प्रविधिलगायत उपचारमा अपनाइने चिकित्सा व्यवस्थापनबारे वृहत् छलफल गरिएको थियो ।

मूत्र प्रणालीका पत्थरी लगायत तत्सम्बन्धी अन्य रोगको उपचारमा संलग्न नेपालका मूत्रप्रणाली रोग विशेषज्ञहरु मध्येका एक प्रमुख विशेषज्ञ डा. खड्गीलाई नेपालमा मिनी पि.सी.एन.एल प्रविधिका माध्यमबाट उनले हालसम्मगर्दै आएका मूत्र प्रणालीको पत्थरी रोगको सफलतम् उपचारबारे इण्डोयुरोलोजिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई जानकारी गराउन आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा निम्त्याइएको थियो । मूत्र प्रणाली रोग विशेषज्ञहरु मध्ये उनलाई यो सम्मान नेपाली चिकित्सा इतिहास मै पहिलोपटक प्राप्त भएको हो ।

सम्पन्न उक्त ३७ औं विश्व सम्मेलनमा विश्वभर कार्यरत मूत्ररोग विशेषज्ञहरु, रेजिडेण्टहरु विशेषज्ञता हासिल गर्दै गरेका चिकित्सकहरू र रोग उपचार-व्यवस्थापन एवम् तिनको अनुसन्धानमा संलग्न अन्य चिकित्साकर्मी सहित १ हजार भन्दा बढी सहभागी थिए । सम्मेलनमा इण्डोयुरोलोजी विधामा विकसित उच्च प्रविधि र तरीका एक आपसमा बाँड्न विश्वभरबाट विशेषज्ञहरु निम्त्याउने गरिन्छ ।

मिनी पि.सि.एन.एल. का वारेमाः

मिनी पि.सि.एन.एल मिर्गौला र मूत्र प्रणालीको असामान्य ठूलो र जटिल पत्थरीको उपचारका लागि वरदानसिद्ध तथा एक उत्कृष्ट प्रविधि हो । यो तुलनात्मकरुपमा सुरक्षित, भरपर्दो, विना ठूलो चिरफार उपचार गर्न सकिने (अर्थात दागरहित) प्रविधि हो । यसको प्रयोगबाट विरामीमा रगतको क्षति अत्यन्तै न्यून हुने, दुखाई कम हुने, घाउ चाँढै निको हुने, प्रायः सबै पत्थरी हटाउन सकिने र बिरामीको हस्पिटल बसाई पनि निकै कम हुने हुँदा यो प्रविधि विश्वसनीय रहँदै आएको छ ।

डा. खड्गीका वारेमाः

चिनको ग्वाञ्झाओ युनिभर्सिटी अन्तर्गत मिनिमल इन्भेसिभ सेन्टर अफ ग्वाञ्झाओ मा विश्वमै मिनी पि.सि.एन.एल. विधिका प्रवर्तक÷अग्रणी विशेषज्ञ प्रा.डा. चेङ्ग गू.हू सँग इण्डोयुरोलोजी र मिनी पि.सि.एन.एल. विधिमा विशेषज्ञ तालिम प्राप्त डा. खड्गीलाई नेपालमा सन् २००५ मै मिनी पि.सि.एन.एल. नामक परिवर्तनकारी विधि र सन् २०१० मा प्रोस्टेटको उपचारका लागि लेजर प्रविधि सर्वप्रथम भित्र्याएको श्रेय छ ।

डा. खड्गीले हालसम्म मूत्र प्रणालीका जटिल पत्थरीका ३ हजार ८ सय भन्दा बढी सफलतम् उपचार गरिसकेका छन् भने लेजर विधिबाट करिव २ सय जति प्रोस्टेट रोगको उपचार गरिसकेका छन् । केहि समय अघि युनाइटेड अरब इमिरेट्सकै दुबईमा आयोजित पत्थरी रोग सम्बन्धी ५५ राष्ट्रका विशेषज्ञहरु सम्मिलित पहिलो अन्तर्राष्ट्रिय गोष्ठीमा डा. खड्गीले सर्वोत्कृष्ट पोस्टर प्रस्तुतकर्ताको पुरस्कार समेत हात पारेका थिए ।

डा. खड्गी मूत्र प्रणालीको पत्थरीको उपचारमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय दुबै क्षेत्रमा ख्याति कमाएका विशेषज्ञ हुन्, जसले विभिन्न अन्तर्राष्ट्रिय चिकित्सा सभा-गोष्टीमा आफ्नो उपचारात्मक विधि र यसका विश्वसनीयता बारे प्रत्यक्ष शल्यक्रियात्मक प्रसारण सहित अन्तर्राष्ट्रिय सङ्काय, वक्ता र मध्यस्थकर्ताका रुपमा चिकित्सकीय प्रस्तुतिहरु दिइसकेका छन् ।