सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्याे


न्युज अफ नेपाल, सिन्धुपाल्चोक । 
सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।  आज (साेमबार) सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एकको शव घटनास्थलबाट केही तल भेटिएको छ ।

आइतबार मृत्यु हुनेमा पुरुष एक, महिला सात, बालक छ तथा बालिका तीन जनाको मृत्यु भएको हो । आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकामा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । बसमा ६० भन्दाबढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो ।