पेस्तोल, गोली, म्याग्जिन र सीमकार्डसहित दुई जना पक्राउ


न्युज अफ नेपाल, मोरङ ।

मोरङबाट अटोमेटिक पेस्तोल, गोली, म्याग्जिन र सीमकार्डसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कटहरी गाउँपालिका–१ मा रहेको सिंघीया खोला नजिकबाट सोही गाउँपालिका–२ का २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित प्रहरीले पक्राउ गरेको हो ।

भगतले उक्त हतियार मोरङ धनपालथान गाउँपालिका–७ कदमहाका २८ वर्षीय मुकेश कुमार मण्डलबाट प्राप्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मुकेशलाई समेत बिराटनगर महानगरपालिका–७ जलजला चोकबाट पक्राउ गरेको छ ।

उनीहरू अवैध हातहतियारको कारोवार गर्ने केही व्यक्तिहरुसँग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।