बेलायतमा नयाँ सभामुखको चयन गर्दै सांसद 


लन्डन । बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन् । बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।

बर्काउले हाउस अफ कमन्समा लगातार १० वर्ष सभामुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का समर्थक समेत रहनुभएको सभामुख बर्काउ बेलायती संसदमा निकै प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो ।

बेलायतको संसदको सभामुखका लागि आठ जना प्रतिस्पर्धी छन् जसमा बर्काउका तीन जना उपप्रमुखहरु लिन्ड्से होयल, रोजी विन्टर्टन र एलिनार लाइङ तथा लेबर पार्टीका नेता हारियट हर्मन रहनुभएको छ ।

उम्मेदवार हुन चाहने प्रत्येक व्यक्तिलाई सांसदहरुसँग छलफल गर्न पाँच मिनेटको समय दिइने बताइएको छ । मतदान भने गोप्य हुनेछ । प्रत्येक मतदानमा सबैभन्दा कम मत ल्याउने व्यक्ति हट्दै जाने र अन्तमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति निर्वाचित भएको घोषणा गरिनेछ ।   रासस/एपी