पेट्रोलियम पदार्थको अन्वेषणको काम तीव्र, कुन कुन भूभागमा पेट्रोलियम पदार्थ छ?


न्युज अफ नेपाल, काठमाडौं । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको हो ।

डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ । पहिलो चरणमा सर्वेको काम हुनेछ । सदरमुकाममा सर्वेका लागि कार्यालय स्थापना गरिएको छ । अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुङ्गो लाग्ने छ ।

अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न पदका लागि आवश्यक जनशक्तिको सूचना प्रकाशन गरेको छ । “जिल्लाकै बासिन्दालाई काममा प्राथमिकता दिइने छ”, प्रालिका सूर्यमणि लामिछानेले भन्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटन गरेपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको हो । पेट्रोलियम पदार्थ भेटिए जिल्लाको मात्र नभई कर्णाली प्रदेश र सिङ्गो नेपालकै लागि महत्वपूर्ण उपलब्धि हुने सांसद रवीन्द्र शर्मा बताउनुहुन्छ । उद्योग वाणिज्य सङ्घका महासचिव राजेश हमालले अन्वेषणको काममा सघाउन सबै उद्योगी व्यापारी, सर्वसाधारणलगायतलाई सहयोग गर्न आग्रह गर्नुभयो ।