चरिमायाको उडान

0
Shares

कुमार श्रेष्ठ, बाँके

साहस चाहिन्छ। योजना हुनुपर्छ। सहयोगी हातहरू आवश्यक पर्छन्। यति भएपछि सफल हुन सकिन्छ।’ २२ वर्षदेखि शक्ति समूह सञ्चालन गरिरहँदा चरिमाया तामाङलाई लागेको रहेछ– ‘म भन्ने सोचबाट बाहिर निस्किेर हामी भन्ने मन्त्र जप्नुपर्छ। संगठनमा काम गरिसकेपछि चाहेर या नचाहेर एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ।’परिबन्धमा परेर मुम्बईको कोठीमा पुर्याइएकी चरिमाया पढेरभन्दा पनि परेर जान्ने बुझ्ने भइन्।

चरिमाया १६ वर्ष पार गर्दै थिइन्। सधैंझैं उनी त्यो दिन पनि शिवपुरी जंगलमा घाँस काट्न पुगेकी थिइन्। एक्लै घाँस बोकेर फर्किरहँदा सिठी बज्यो। आर्मी आएछ क्या हो भनेर चरिमाया झाडीमा लुकिन्। तर, त्यो सिठी बजाउने आर्मी नभएर अरू नै थिए। उनीहरूले चरिमायामाथि आक्रमण गरे। कुटपिट गरे। प्लास्टिकको पोकाबाट निकालेर जबरजस्ती मुखमा केही खुवाइदिए। त्यसपछि चरिमाया बेहोस् भइन्।

मानव बेचविखन बिकाउ मुद्दा भएकाले विभिन्न नामधारी एनजीओको भीडमा चरिमायालगायत प्रभावितहरूकै संस्था शक्ति समूह चाडै नै चर्चित भयोे। प्रभावितहरूले नै दूरदराज गाउँमा आफ्ना पीडा सुनाउँदै चेतना जगाउँदा छिट्टै विश्वासी भयो, डोनरले पत्याए।

सिन्धुपाल्चोकको हैबुङमा घाँस–दाउरा गर्ने चरिमायाले वासिङ्टन डीसी पुगेर पुरस्कार थापिन्। सन् २०११ मा अमेरिकी सरकारले चरिमायालाई ‘टिप हिरो’ ले सम्मान गर्यो। शक्तिशाली राष्ट्र अमेरिकाकी शक्तिशाली महिला हिलारी क्लिन्टनले चरिमायालाई पुरस्कार प्रदान गरिन्।

चरिमायाको हैबुङदेखि वासिङ्टन डीसीसम्मको यात्रा सहजै तय भएको थिएन। उनको साहस, मिहिनेत र संघर्षले त्यहाँ पुर्याएको थियो। कामको सम्मान गर्दै सन् २०१३ मा शक्ति समूहलाई र्यामन म्यागसेसे पुरस्कार दिइयो। जुन पुरस्कारलाई एसियाको नोभेल पुरस्कार पनि भन्ने गरिन्छ।

सन् १९९६ फेबु्रअरी ५ तारिखमा बम्बई (मुम्बई) को कठारीपुर एरियाको ‘कोठी’ बाट उद्धार हुँदादेखि ६ महिनासम्म भारतमै सेल्टर लिँदा होस् या नेपाल फर्किएपछि खेप्नुपरेको लाञ्छना र गालीहरू चरिमायाले गरेको कामले तालीमा परिणत भइसकेका छन्।

२७/२८ महिनापछि घर फर्किंदा चरिमाया फुरु· थिइन्। मनमा उमंग थियो। खुसीयाली त थियो नै। तर, जब गाउँ पुगिन्, खुसी, उमंग सबै चकनाचुर भए। घर–परिवारका सदस्यलाईसमेत प्रभावित पारेर गाउँले लाठो लिएर बसेका थिए। भन्दै थिए– ‘कुल बिग्रिने भयो, छोराछोरीको बिहे नहुने भयो।’

कालकोठरीको २२ महिनाअर्थात् उनकै शब्दमा २२ जुनी काटेर २०५३ साउन ७ गते नेपाली भूमि टेकेकी चरिमायाले त्यसको ६ महिनापछि आफूलाई ‘नर्क’ मा पुर्याउने चार जनाविरुद्ध सदरमुकाम चौतारा पुगेर जिल्ला अदालतमा मुद्दा दायर गरिन्।

भारतबाट उद्धार गरेर फर्काइएका १ सय २८ जनामध्ये आफूलाई कोठीमा पुर्याउनेविरुद्ध अदालतमा जाहेरी दिने चरिमाया पहिलो थिइन्। अदालतले उनको पक्षमा फैसला गर्यो। उनीहरूलाई १० वर्ष जेल सजाय तोक्यो।

शक्ति समूहमा वार्षिक ६÷७ करोडको बजेट खेलाएर मानव बेचविखनविरुद्धको पवित्र काममा लागेकी चरिमायाको समूहमा ५४ जना बढी प्रत्यक्ष जोडिएका छन्। २०७२ सालमा २१ जिल्लासम्म फैलिएको शक्ति समूहले पाँच जिल्लाबाट प्रत्यक्ष काम गरे पनि देशभरि नै निगरानी गरिरहेको छ।

भारतबाट उद्धार गरिएपछि घर–परिवार, समाजले स्वीकार नगरेको चोट चरिमायाको मनमा गडेको थियो। नेपाल फर्किएको ६ महिनापछि पुस ७ गते घरमा पुग्दा घर–परिवारदेखि गाउँभरिका मान्छेले लौरो, भाटा लिएर बसेको दृश्य उनको आँखामा अहिले पनि झल्झली आउँछ। २८ महिनापछि घर फर्किंदा घर–परिवार र गाउँलेको अवरोधले गर्दा उनले जम्मा दुई घन्टा पनि घरमा बिताउन पाइनन्।

तत्काल घरबाट फर्किएर नजिकको अर्को गाउँमा बास बसी काठमाडौं फर्किइन्। इमानदारीपूर्वक काम गर्ने हो भने सफलता पाइन्छ भनेझैं त्यही गाउँमा उनले बेचविखनविरुद्ध काम गर्दै जाँदा केही महिनापछि उनी गाउँमा हाई–हाई भइन्। चरिमाया भन्छिन्– ‘समाजले मेरो कुरा बुझ्यो। म रहरले नभई परिबन्धमा परेर बेचिएकी थिएँ। मेरोजस्तो हालत त जसको पनि हुन सक्थ्यो।’

चरिमायाको कामले यति बेला विगतको पीडा, वेदना, अपहेलना, लाञ्छना, गाली सबै बिर्साइदिएको छ। चरिमायाको उडान दिन प्रतिदिन माथि–माथि पुग्दै छ। मानव बेचविखनविरुद्ध हुने राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा उनको सहभागिता अनिवार्य जस्तै भएको छ। जनसेवा मानपदवी चौथालगायतले उनलाई पछ्याइसकेको छ। राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यालयको सम्मान, विभिन्न अवसरमा दिइने कदरपत्रहरू उनको कामका निशानी भएका छन्।

यसरी पुर्याइयो कालकोठरी

२०५० साल चैत महिना। चरिमाया १६ वर्ष पार गर्दै थिइन्। सधैंझैं उनी त्यो दिन पनि शिवपुरी जंगल (शिवपुरी जलाधार आरक्षण) मा घाँस काट्न पुगेकी थिइन्। एक्लै घाँस बोकेर फर्किरहँदा सिठी बज्यो। आर्मी आएछ क्या हो भनेर चरिमाया झाडीमा लुकिन्। तर, त्यो सिठी बजाउने आर्मी नभएर अरू नै चार जना थिए।

उनीहरूले चरिमायामाथि आक्रमण गरे। कुटपिट गरे। प्लास्टिकको पोकाबाट निकालेर जबरजस्ती मुखमा केही खुवाइदिए। त्यसपछि चरिमाया बेहोस् भइन्।होस् आउँदा त चरियामा गोरखपुरमा थिइन्। ती चार जना सँगै थिए। उनीहरूले चरिमायालाई फकाउन थाले। ‘कास्मिर जाने हो। १५ दिनमा फर्किन्छौं।’ जबरजस्ती रेलमा बसाए। गर्मीको बेला थियो।

खल्खल्ती पसिना आइरहेको थियो। रेलमा चढ्दै गर्दा उनीहरूले पेय पदार्थ (थम्सप) खुवाए। त्यो खाएपछि चरिमायालाई दिन–रात केही थाहा भएन। बम्बईको अधेरीमा पुगेपछि होस् आयो। त्यहाँ खाना खुवाए। एक जना नेपाली महिला आइन्। उसलाई माइजू भन्न लगाइयो।

चरिमायालाई माइजूसँग जान र १५ दिनपछि हामी फर्किन्छौं अनि घर जाने भनेर उनीहरूले दबाबमूलक आग्रह गरे। चरिमायाले नमान्दानमान्दै उनीहरूले भनेजस्तै गर्नै पर्यो।
दुईवटा ट्याक्सी रोकियो। एउटामा चरिमाया र माइजू भन्ने महिला बसिन्। अर्कोमा ती मानिसहरू बसे। केहीबेर ट्याक्सी अगाडि–पछाडि गर्दै सँगसँगै जस्तै गुडिरहेका थिए। चरिमायालाई लाग्यो– ‘ए ⁄ सँगै रहेछन्।’

चरिमाया अर्को ट्याक्सी हेर्दै थिइन्। केही क्षणपछि त्यो ट्याक्सी कता गयो, गयो। चरिमायालाई ती महिलाले कमाठीपुरको १३ नम्बर गल्लीमा लगिन्। माइजू भन्ने महिला अघि–अघि हिँडिन्। चरिमायालाई दायाँ–बायाँ नहेरी पछि–पछि आउन भनिन्। केहीबेर हिँडेपछि महिलाले एउटा कोठामा पुर्याइन्। त्यो कोठाभित्र छिर्दा तीनवटा च्यानल गेट पार गर्नुपथ्र्यो।

एउटाबाट अघि बढेपछि त्यो गेट बन्द गरिन्थ्यो। दोस्रो हुँदै तेस्रो गेट बन्द गरेर कोठामा लगियो। चरिमायालाई त्यो कोठामा थुनेर राखे। त्यही बेला दुई जना महिला आए। चरिमायालाई दायाँ–बायाँबाट हेरे। कुनै सामान किन्ने बेलामा ग्राहकले ओल्टाई–पल्टाई हेरेजस्तो।

चरिमायालाई त्यति बेला के गरेका होलान् भन्ने थाहा भएन। अहिले त्यो क्षण सम्झिँदा चरिमायालाई लाग्छ– ‘मेरो मूल्य निर्धारण गर्न त्यसरी हेरेका रहेछन्।’ती महिलाहरूले चरिमायालाई नांगो बनाएर नुहाइदिए। सानोमा आमाले नुहाइदिएको जसरी। अनि, नयाँ कपडा लगाइदिए। त्यसपछि उनीहरू निस्केर गए। उनीहरू गएको तेस्रो रात चरिमाया कोठीमा पुगिन्।

चरिमायालाई उनको दाइसँगको रिसको बदला लिन गाउँकै एक जनाले अरूसँग मिलेर बेचेका रहेछन्। २०४५ सालमा गाउँमा एक जना बुहारी एकाएक हराइछन्। चरिमायाका दाइले महिलालाई बेचेको आरोप ती मानिसलाई लगाएछन्।

उनीहरूले गाउँसभामै चरिमायाको दाइलाई कुटपिट गरे।आफूलाई मानव बेचविखनको आरोप लगाएको रिस फेर्न उनीहरूले पछि चरिमायालाई जबरजस्ती बम्बईको कोठीमा पुर्याएका रहेछन्। चरिमायालाई यस्तो लागेको छ।

कालले पनि लगेन, ५५ हजारमा बिक्री

तीन जना महिला मिलेर जबरजस्ती नांगो बनाएर नुहाइ दिई नयाँ कपडा लगाइदिएर गएको रात चरिमायाका लागि सयांै जुनीको रात थियो। छट्पटाएर, निस्सासिएर उनले त्यो रात कटाइन्। भोलिपल्ट बिहान दुई जना महिला आएर ‘आज जानु परेन, बस’ भनेर फर्किए।

दोस्रो रात चरिमायाले आत्महत्याको प्रयास गरिन्। आफ्नै सलले घाँटीमा पासो लगाएर झुन्डिइन्। राम्ररी मिलेन सायद, उनी १५ मिनेटजति छट्पटाइरहिन्। सल चुडियो, भुइँमा खसिन्। चरिमायालाई कालले पनि लगेन।

तेस्रो रात उनलाई कोठीमा पुर्याइयो। पहिलो ग्राहकलाई चरिमायाले हिर्काएर फर्काइन्। कोठी सञ्चालक (घरवाली) आएर धम्क्याइन्, पिटिन्। योभन्दा पनि अझ नराम्रो ठाउँमा बेच्ने धम्की दिए। यस्तैमा छैठौं दिन चरिमायाको सर्वस्व लुटियो। चार जना ग्राहक मदिरा पिएर एउटा कोठामा बसेका थिए। चरिमायालाई त्यही हुलेर ढोका बन्द गरियो।

मदिराले उन्मत्त भएका ग्राहकले चरिमायालाई झम्टिए, चिथोरे। पैसा तिरेर जे कामका लागि आएका थिए, त्यो काम गरे। पहिलो ग्राहकले आक्रमण गर्दा केही थाहा पाएकी चरिमाया त्यसपछि बेहोस् भइन्। धेरैपछि होस् आउँदा रक्ताम्य थिइन्। उनको अगाडि तीन महिला र एक पुरुष थिए।

उनीहरू घरवाली, उनका सहयोगी र चिकित्सक थिए। चिकित्सकले सिरिन्ज लगाए, टाँकाहरू लगाए। चरिमायालाई एक हप्तासम्म औषधि खुवाएर राखियो। कोठीमा पुगेको ६ महिनासम्म चरिमायाले भाग्ने कोशिस गरिरहिन्। उपाय भने निस्केन। जति कोशिस गरे पनि असफल भइरहिन्। केही उपाय नलागेपछि उनी घरवालीलाई खुसी पार्नतिर लागिन्।

घरवालीको विश्वासपात्र भइन्। घरवालीले ५५ हजारमा किनेको र साढे २ वर्षमा त्यो चुक्ता भएपछि घर पठाइदिने आश्वासन दिन थालिन्। साढे २ वर्षमा घर जान पाइन्छ भनेर उनी दिन गन्न थालिन्। आंैला भाँच्न थालिन्। कोठीमा रहँदा चरिमायालाई दशैं, तिहारको खुब याद आउँथ्यो।

गाउँको, घर–परिवार र साथीहरूको यादले उनी चुर्लुम्म डुब्थिन्। याद आएर के गर्नु, कालकोठरीको चारकिल्लामा उनको सारा संसार कैद भएको थियो। १९९४ अप्रिलमा बेचिएकी चरिमाया १९९६ फेब्रअरीमा बाहिर निस्किइन्। यो २२ महिना चरिमायाले कालकोठरीमा बिताइन्। उनकै शब्दमा त्यो २२ जुनी थियो।

२२ महिना कालकोठरीमा बस्दा चरिमायाले के बुझिन् भने घरवाली (कोठी सञ्चालक) पनि कुनै समयमा बेचिएका हुँदा रहेछन्। समय बित्दै जाँदा उनीहरू आफैंले कोठी सञ्चालन गर्दा रहेछन्। कोठी चलाएर बसेपछि उनीहरूले कमाएको पैसा घरमा पुर्याउँदा रहेछन्। घरमा जाने–आउने गर्दा रहेछन्। प्रहरी, टोले गुन्डालाई हप्ता दिएर पाल्नुपर्दोरहेछ।

जन्मियो शक्ति समूह

सन् १९९६ फेब्रुअरी ५ तारिखमा बम्बई प्रहरीले कमाठीपुर एरियामा छापा मार्यो। महाराष्ट्र सरकारले १८ वर्षमुनिका किशोरीलाई छापा मारेर कोठीबाट उद्धार गर्न प्रहरीलाई एक घन्टाको समय दिएको थियो।

प्रहरीले एक घन्टामा ५ सय बढीको उद्धार गर्यो। उद्धार हुनेमा नेपाल, भारत र बंगलादेशका किशोरी थिए। त्यसमा नेपाली किशोरी २ सय ६८ जना थिए। उद्धारपछि सबैलाई नजिकको नाकपडा चौकीमा लगियो। दिउँसो एक बजेतिर प्रहरीले उद्धार गरेको थियो। पहिला–पहिला उद्धार गरिसकेपछि प्रहरीले पैसा खाएर फिर्ता गरेको सुनिन्थ्यो।

यसपटक भने महाराष्ट्र सरकारको आदेश भएकाले प्रहरीले फिर्ता गरेन। उद्धार भएकाहरूलाई राख्न आवास गृह खोज्न थाल्यो। ५ बजेतिर चरिमायालगायत १ सय ६० जनालाई अधेरीमा क्रिस्चियनले चलाएको क्याथोलिक होममा पुर्याए। यो बीचमा १ देखि ५ बजेसम्म चरिमायालगायतले पानीसमेत खान पाएका थिएनन्।

उद्धार गरिएकाहरूलाई आ–आफ्नो देश फिर्ता गर्ने तयारी भयो। भारत र बंगलादेशले आफ्ना नागरिकको जिम्मा लियो। नेपाल सरकारले ‘नेपाली बोल्दैमा नलिने’ प्रतिक्रिया दिएको बाहिर आयो। क्याथोलिक होममा बस्दा चरियामालाई प्रहरी र होम सञ्चालकले नेपाल सरकारले यस्तो भनेको भन्दै सुनाउँथे– ‘यिनीहरू बिग्रिएका हुन्। नेपालमा ल्याएमा अरूलाई बिगार्छन्।

यिनीहरू एड्सको पोका हुन्। नेपालमा ल्याएमा एड्स फैलाउँछन्।’ यस्तो सुन्दा चरिमाया साह्रै दुखित हुन्थिन्। तीन महिनासम्म होममा बस्दा ६० जना एकैपटक गेट फोरेर भागे। तीन जनाले नियमित आउने ग्राहकसँग विवाह गरेर गए। यही समयमा नेपालबाट गौरी प्रधान क्याथोलिक होममा पुगे। २÷३ घन्टा वार्ता गरेर प्रधान फर्किए।

उनले केही समय पर्खिन आग्रह गरेर फर्किएका थिए। यसपछि चरिमायामा केही आशाको दियो बल्यो। प्रधान फर्किएको तीन महिना अर्थात् क्याथोलिक होममा बसेको ६ महिनापछि २०५३ साउन ४ र ७ गते गरेर दुई लटमा १ सय २८ जनालाई नेपाल फिर्ता ल्याइयो। भारतीय हिरो सुनील सेठ्ठीले दिदी–बहिनी सम्झिएर जहाजको टिकट व्यवस्था गरिदिएका थिए।

४ गते सय र ७ गते २८ जनाले नेपाली भूमिका टेकेका थिए। चरिमाया दोस्रो लटमा थिइन्। विमानस्थलमा उनीहरूलाई धेरै अपमान गरियो। थुक्नेसम्मको काम भयो। चरिमायाहरूको पुनःस्थापनामा सातवटा संस्थाले टेको लगाएका थिए।

ती संस्थाहरूमा नवज्योति केन्द्र, माइती नेपाल, सिविन, एबीसी नेपाल, शान्ति पुनःस्थापना गृह, स्त्रीशक्ति र महिला पुनःस्थापना केन्द्र थिए। संस्थाहरूले क–कसलाई कहाँ राख्ने भागवण्डा गरे। चरिमाया नवज्योति केन्द्र, बालुवाटारमा पुगिन्। नवज्योतिको भागमा अरू १३ जना पनि परेका थिए। सबैलाई ६ महिनापछि पारिवारिक पुनर्मिलन गर्ने भनियो।

दशैं पनि आउँदै गरेकाले आधाआधी दशैंमा घर जाने भन्न थाले। चरिमायाको भनाइ भने बेग्लै थियो। उनले ६ महिनामा पुनर्मिलन होइन, समाजले स्वीकार गर्ने, जिउनी आधार तयार गरिदिनुस् भन्थिन्। २०५४ सालमा महिला पुनःस्थापना केन्द्र (ओरेक) ले १० दिने आधारभूत स्वास्थ्य तालिम आयोजना गर्यो।

तालिममा १५ जना सहभागी थिए। तालिमको अन्तिम दिन प्रभावितहरू सम्मिलित शक्ति समूह गठन भयो। शुरूका दिनमा छलफल र बैठक बस्नसमेत अरू हिच्किचाउँथे। ओरेककै भवनमा बैठक छलफल हुन्थ्यो। शक्ति समूह जन्मिएपछि चार वर्ष चरिमायालगायतले भोलिन्टियर काम गरे। एटविन नेटवर्क, महिला बेचविखनविरुद्ध विश्वव्यापी सञ्जालले शक्ति समूहलाई माथि उकास्न ठूलो सहयोग गरे।

यही बेला सञ्जालले चारदिने धारणागत स्पष्टता गोष्ठी आयोजना गर्यो। त्यसको सहजकर्ता डा. ज्योति संग्रौला र लिन चिउ थिए। गोष्ठीको चार दिनसम्म चरिमायाले सिविनकी सन्ध्या श्रेष्ठको सहयोगमा लिन चिउसँग ‘आफैं गरी खान शक्ति समूह गठन गरेका छौं। सहयोग गरिदिनुपर्यो’ भनेर धेरै आग्रह गरिन्।

लिन चिउले सहयोगको वाचा गरिन्। उनी नेदरल्यान्डको मामाकास संस्थाको संयोजक थिइन्। लिन चिउले शक्ति समूहको ‘उद्धार’ गरिन्। ५ लाख रुपियाँ सहयोग गरिदिइन्। त्यही पैसाबाट शक्ति समूहको काम शुरू भयो। त्यसपछिका दिनमा शक्ति समूह जिफन्टसँग समन्वय गरेर गलैंचा कारखानामा पुग्यो। लुमन्ती र बसोबास व्यवस्था संस्थासँग मिलेर काठमाडौंको बसोबास बस्तीमा घुस्यो।

गलंैचा र बसोबास बस्तीमा पहिला जानुको कारण चाहिँ उद्धार गरिएकाहरू अधिकांश त्यहाँबाट दलालको जालमा परेका थिए। यति बेलासम्म संस्था दर्ता भइसकेको थिएन। संस्था दर्ता पनि धेरै पापड पेल्नुपर्यो। २०५६/०५७ मा आएर संस्था दर्ता भयो। त्यसपछि अक्सफार्म जिवी नेपाल, सेभ द चिल्डे«नलगायतका संघ–संस्थाले सहयोग गरे। सन् २००३ मा युनिसेफको सहयोगमा १० दिने केस स्टडी तालिम गरेर किताब निकालियो।

२००४ मा उद्धार, पुनःस्थापना र पुनर्मिलनसम्बन्धी मार्ग निर्देशन–२००५ मा फर्केकाहरूको अध्ययन, २००६ देखि शक्ति समूहले जिल्लाहरूमा काम थाल्यो। शुरूमा सिन्धुपाल्चोक, नुवाकोट, बारा, रौतहट, मकवानपुरबाट काम थालिएको थियो। सन् २००९ देखि शक्ति समूहले औपचारिकरूपमा उद्धार र स्वदेश फिर्ताको काम गरिरहेको छ। शक्ति समूहले अहिलेसम्म १ हजार २ सयलाई आवासको सहयोग गरेको छ। ६ सय बढीको उद्धार गरेको छ।

लाठो लिएर ‘स्वागत’

२०५३ साउन ७ गते नेपाल फर्किएकी चरिमाया पुस ७ गते पहिलोपटक घर गइन्। २७/२८ महिनापछि घर फर्किंदा उनी फुरु· थिइन्। मनमा उमंग थियो। खुसीयाली त थियो नै।
तर, जब गाउँ पुगिन्, खुसी, उमंग सबै चकनाचुर भए। घर–परिवारका सदस्यलाईसमेत प्रभावित पारेर गाउँलेहरू लाठो लिएर बसेका थिए। भन्दै थिए– ‘कुल बिग्रिने भयो, छोराछोरीको बिहे नहुने भयो।’

चरिमायाले आफ्नो दुःखान्त सुनाउने प्रयास गरिन्। तर, सुनिदिने कसले ? उनले पाएको दुःख र हन्डर सुनिदिने कसले ? घर–परिवार नै गाउँलेको दबाब र प्रभावमा थिए। उनले आफूलाई बम्बईमा बेच्नेविरुद्ध कारबाहीका लागि आएको भनेर गिड्गिडाउँदासमेत कसैले कुरा नसुनेपछि चरिमाया दुई घन्टापछि नै गाउँबाट फर्किइन्।

पुस १० गते सदरमुकाम चौतारामा पुगेर जिल्ला अदालतमा चार जनाविरुद्ध मानव बेचविखनमा मुद्दा दायर गरिन्। गाउँबाट फर्किएर नवज्योतिमा आएपछि उनले माघमा ६ महिने ग्रामीण अगुवाइ तालिम लिइन्। त्यसपछि निवेदन नै हालेर सिविनको बालिका गृहमा बसिन्। घरमा जाने र आउने क्रम चल्न थाल्यो।

पुस १ गते आमा सिकिस्त बिरामी भएपछि काठमाडौं ल्याइएको थियो। चरिमायाले सक्दो हेरचाह गरेकी थिइन्। माघेसंक्रान्तिमा फलफूल, खानेकुरा लिएर घर जाँदा आमा बितिसक्नुभएको थियो। आमाको पुस २७ गते नै मृत्यु भएको रहेछ। मैले लगेको खानेकुरा चढेन। मैले कर्म चलाउन पाइनँ। म अछुतो भएँ। तामाङको कर्म चलाउने भनेको घेवा भन्ने हुन्छ।

मलाई त्यसमा समावेश नगरेपछि म घर बसिनँ। फर्किहालें। २०५७ सालमा शक्ति समूहबाट चरिमाया गाउँ जान थालिन्। त्यही बेला उनको बिहे भयो। गाउँमा चेतना जगाउन थालिन्। आफूलाई जस्तो अरूलाई नपरोस् भन्ने सन्देश बाँडिन्। निरन्तर काम गर्दै जाँदा समाजले चरिमायाको कुरा बुझ्यो।

पछि त यस्तो पनि अवस्था आयो कि समाजका अगुवाहरूले चरिमायालाई अगाडि सार्न थाले। चरिमाया रहरले, हाँसीखुसी बेश्यालयमा पुगेकी थिइनन्। उनलाई परिबन्धमा पारेर लगिएको थियो। यस्तो अवस्था त जसको छोरीबुहारीको पनि हुन सक्थ्यो।

यो कुरा समाजले बुझ्यो। त्यसपछि चरिमायालाई काम गर्न अझ सहज भयो। समाजले विभिन्न लाञ्छना लगाएकी चरिमाया विस्तारै ‘हिरो’ हुँदै गइन्। उनको कामले गर्दा अहिले पनि ‘हाई–हाई’ नै रहेकी छन्।