प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिता


मेलम्ची ।
प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको अन्तिम आठमा विभिन्न पाँच विद्यालयका टोलीले स्थान बनाएका छन् ।

इर्खु मावि इर्खु, राजेश्वरी मावि सिपापोखरे, सरस्वती मावि ग्याल्थुम, सिद्धिगणेश मावि सानोसिरुवारी र सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे क्वाटरफाइलनमा प्रवेश गरेका हुन् । इर्खुले रामदेवी मावि जलकिनेलाई, राजेश्वरीले ज्ञानमन्दिर नमूना मावि मेलचौरलाई, सरस्वतीले सेतीदेवी मावि ठूलोसिरुवारी, सिद्धिगणेशले कालीदेवी मावि कदमवासलाई र सेतीदेवी पञ्चकन्याले रामदेवीलाई हराएको हो ।

आज समूह चरणका नौ खेल भएका थिए । आइतबार तीन खेल हुने छन् । आइतबारदेखि नै क्वाटरफाइनलका खेल हुने आयोजक संस्थाले जनाएको छ । इर्खु स्पोर्टस क्लबको आयोजनामा चौतारा–साँगाचोकगढी नगरपालिका–८, इर्खुमा सञ्चालित प्रतियोगिता मङ्गलबारसम्म चल्नेछ । प्रतियोगितामा १२ विद्यालयले भाग लिएका छन् ।

चौतारा नगरस्तरीय खुला पुरुष फुटबल प्रतियोगितासमेत यहाँ आयोजवना गरिएको छ । नगरभित्रका २८ टोलीले प्रतियोगितामा भाग लिने बताइएको छ । कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु ५० हजार र उपविजेताले रु २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा तेस्रो हुने टोलीले रु १२ हजार ५०० पुरस्कार हात पार्नेछ ।