पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सिक्किमको विजय शुरुवात


झापा ।
झापाको डोमालाल राजवंशी रङ्गशालामा आजदेखि शुरु भएको ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’मा पाहुना टोली एफसी सिक्किमले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बराबरी बलको स्थानमा सिक्किमका लागि दुवै गोल करण राईले गरेका थिए । आक्रामक खेलमा सिक्किमका राईले खेलको २९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

आयोजकका गोलरक्षक अभिषेक रिजालको हातबाट उम्केको रिबाउन्ड बललाई करणले गोल पोष्टको दिशा दिएका हुन् । पहिलो हाफ १–० गोलको नतिजामा टुङ्गिए पनि दोस्रो हाफमा आयोजकको गोलपोस्टमा गोल वर्षा भएको थियो । जसमा दोस्रो हाफको ६ मिनेटमै थप गोल गरेर सिक्किमका राईले उत्कृष्ट प्रदर्शन देखाए ।

आयोजकले खेलको १५ औँ मिनेटमा गोल गर्न सफल भयो । आयोजकका तपन कार्कीले उत्कृष्ट गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । सिक्किमका गणेश लिम्बूले खेलको ३८औँ मिनेटमा थप गोल गरेर ३–१ गोलको फराकिलो नतिजा बनाउन सफल भए । यसै क्रममा राईले नै खेलको ४० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

४–१ गोलको फराकिलो नतिजामा आयोजकका टङ्कु लामाले गोल गरेर दूरी कम गर्ने प्रयास गरे पनि जीतका लागि सम्भव भएन । इन्जुरी समयमा सिक्किमका राईले थप गोल गर्दै व्यक्तिगत ४ गोल गर्न सफल भए । खेलको म्यान अफ दी म्याच सिक्किमका राई घोषित भए । उनले नगद १० हजार पाए । जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । आइतबार झापा ११ एफसीले नेपाल पुलिस टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपको विजेताले रु १२ लाख ५० हजार पाउँदा उपविजेताले रु ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही रु १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।

यसअघि भएको औपचारिक कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गोल्डकपको उद्घाटन गर्नुभएको थियो ।