वीरगन्जका छटियाघाटमा भक्तजनहरुको घुइचो, अस्ताउँदो सूर्यलाई अर्ध दिइयो


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरगन्ज सहित मध्य तराईका जिल्लाहरुमा शनिबार अस्ताउदो सूर्यलाई अर्ध दिइएको छ । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्ध दिएसँगै छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरु वीरगन्ज बजार आएका हुन् । वीरगन्ज लगायत मध्य तराईका गाउँघर, छठिघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् ।

कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा छठ शुरु हुने गर्दछ । सप्तमी तिथीका दिनको बिहानसम्म गरि चार दिन छठ मनाइन्छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।

छठपूजामा छठी मातालाई चढाइ मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भोलि र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, अदुवाको बोट लगायतका फलफुल र हरियो तरकारीहरु हुन् ।यी फलफुल र तरकारीको पसल वीरगञ्ज बजारको मुख्य सडकका फुटपाथ र सडक छेउमै थापिएका छन् ।

छठ शुरु भएसँगै थापिएका पसलहरुमा दिनभर ग्राहकहरु भिड देखिन्छ ।वीरगन्जको माईस्थान, घण्टाघर लगायतका क्षेत्रका सडक किनार छठ पर्वमा ‘कोशी भर्न’का लागि आवश्यक सामग्रीले ढाकिएका छन् । जसमा अदुवा, पिडालु, मुला, वेसार, बोडी, नरिवल, स्याउ, सुन्तला, केरा लगायतका कृषिजन्य उपज हुने गर्छ ।

अर्घपातका लागि कसैली (सुपारी), ईलाईची, ल्वाङ, सिन्दुर लगायतका समान चाहिन्छ । बजारमा नरिवल ३०(४० रुपैयाँ प्रति गोटा, अदुवा ४ सय रुपैयाँ प्रतिकिलो, मुला ४० देखि १ सय रुपैयाँ किलो, सुथनी १ सय रुपैयाँ किलो, केरा १ सय रुपैयाँ दर्जनसम्म किनबेच भईरहेको व्यापारीहरुले बताएका छन् । छठमा आफ्नै खेतबारीमा पाईने बस्तुहरुको प्रयोग गर्ने चलन भएपनि पछिल्लो समयमा सबैकुरा किन्ने चलन बढेको छ ।

छठ पर्वमा दलित विपन्न समुदायको रुपमा परिचित डोम समुदायको सक्रियता बढ्छ । बाँस र बेतका चोयाबाट बनाईने सुपली, छ्रैटी, दउरा, नाङ्लो बनाएर बिक्री गर्नमा व्यस्त भएका छन् । उनीहरुले यही सामग्री बेचेर छठ पर्वमा मनग्य आम्दानी लिने गर्दछन् ।