छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ को मृत्यु


न्युज अफ नेपाल, काठमाडौं

म्याग्दी, तनहुँ, कपिलवस्तु, धनुषा, दाङ, सप्तरी, डोटी र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुम ताप्सेस्थित सडकमा ध १ ज ५९५ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार मालिका गाउँपालिका–२ बस्ने २२ वर्षीय सप बहादुर श्रीपाली र ४० वर्षीय चन्द्र बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको बन्दिपुर गाउँपालिका–४ मर्स्याङदी रिर्सोटस्थित सडकमा प्रदेश ३(०२००५ प ७६०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नेदरल्याण्डका नागरिक ६२ वर्षीय ज्याकोब बोटेमको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ ईमिलिया पुलस्थित सडकमा भे १ ख १९९७ नम्बरको बसले रा ३ प १५१६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दिया बगनाह गाउँपालिका(३ बस्ने ४७ वर्षीय रनबहादुर बिकको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कपिलवस्तुकै बाणगंगा नगरपालिका–५ झण्डास्थित सडकमा लु १ ख ८४७७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने राजेश थारुको १८ महिनाको छोरा टोपेन्दर थारुको शनिबार बिहान घट्नास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित सडकमा बा ५ ख ८८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका साईकलयात्री क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीय रामलखन महतोको जानकी हेल्थकेयर जनकपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको गढवा गाउँपालिका–५ चिसापानीस्थित सडकमा रा १ त २३९३ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका गढवा गाउँपालिका–६ मनिकापुर बस्ने ११ वर्षीया निनु पुन, १२ वर्षीया सिमा परियार र १२ वर्षीया सुनिता पुनमगरको गढवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये १६ जनाको मेडिकल कलेज कोहलपुर, १ जनाको भारत लखनउ र १ जनाको गोर्खा अस्पताल घोराहीमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, सप्तरीको रुपनी गाउँपालिका–१ स्थित सडकमा लु १ ख ८२१४ नम्बरको बस र ना ८ ख ५९०३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका चालक रूपन्देही बुटवल उपमहानगरपालिका–१३ बस्ने स्याङ्जा जगत्रदेव घर भएका ४० वर्षीय नोमोराज न्यौपानेको युनिक अस्पताल रुपनी सप्तरीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटीको शिखर नगरपालिका–१ गैरपानीमा ना ७ ख ६१८१ नम्बरको बस सडकबाट अन्दाजी ६० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका बाजुरा साविक बाह्रबिस गाबिस–६ घर भएका ५१ वर्षीय नयाँ शेरालाको शैलेश्वरी अस्पताल दिपायलम उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ३६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–११ पात्ले खेतस्थित सडकमा बा ४ ख ९४८५ नम्बरको टिपर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा टिपरमा सवार हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।