व्यक्तिगत सहयोगमा बन्यो बर्थिङ सेन्टर, हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्ने


रामचन्द्र वि.क., रामेछाप ।

रामेछापको अति दुर्गम भनेर चिनिने उमाकुण्ड–१ गुम्देलमा गर्भावती महिलाहरुका लागि अत्याअवश्यक मानिने बर्थिङ सेन्टर बनेको छ । सदरमुकाम मन्थलीदेखि २६ कोष टाढा रहेको गुम्देलमा बर्थिङ सेन्टर नहुँदा लाखौं खर्च गर्दा पनि महिलाले ज्यान गुमाउनु पर्ने बाध्यता थियो ।

बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवन बनेसँगै आफूहरुले भोग्दै आएको समस्या समधान हुनेमा स्थानीयहरु आशावादी देखिएका छन् । सरकारको समेत आँखा नपुगेको ठाउँमा स्थानीय युवा पेम्बा शेर्पा, समाजसेवी शिव श्रेष्ठ र बुद्धीमाया शेर्पाको पहलमा बर्थिङ सेन्टर सहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनेको हो ।

सरकारको आँखा नपुगेको ठाउँमा यसरी बन्यो बर्थिङ सेन्टर

गर्भवती महिलाले सुत्केरी हुँदा ज्यानै गुमाउनु पर्ने बाध्यताको पीडा महिलाहरुलाई मात्रै हैन त्यहाँका समाजसेवीलाई पनि उतिकै थियो । करिब दुई वर्ष अघि रामेछापको ठोसे स्थाई घर हुनुभएका समाजसेवी शिव श्रेष्ठसँग गुम्देलका स्थानीय युवा पेम्बा शेर्पाको भेट भयो । सोही भेटमा शेर्पाले गुम्देलबाट एक हप्ताको समयमा दुई महिला सुत्केरी गराउँनकै लागि हेलिकप्ट चार्टर गरेर कठमाण्डौ लैजादा आमाको मात्रै ज्यान बाँचेको पीडादयी घटना सुनाउनुभयो ।

गुम्देलका महिलाले भोग्दै आएको समस्यालाई समधान गर्ने सोचका साथ समाजसेवी श्रेष्ठले बर्थिङ सेन्टर सहितको स्वास्थ्य भवन बनाउने योजना लिएर गुम्देलबाट फर्किनुभयो । त्यसपछि बर्थिङ सेन्टर बनाउनको लागि आवश्यक पैसा जुटाउनको लागि सोलुखुम्बुको नाम्चे घर भई हाल अष्ट्रिया बस्ने बुद्धी माया शेर्पालाई श्रेष्ठले आग्रह गर्नुभयो ।

समाजसेवी बुद्धीमाया शेर्पाले पनि गुम्देलका महिलाहरुले भोग्दै आएको पीडालाई आफ्नै पीडा सम्झी बर्थिङ सेन्टर सहितको भवन बनाउनको लागि आवश्यक पर्ने पैसा जुटाउने प्रतिबद्धता जनाउँदै गुम्देलका स्थानीय युवा पेम्बा शेर्पालाई भवन बनाउनको लागि आग्रह गर्नुभयो ।

समाजसेवी बुद्धीमायाको प्रतिबद्धता पछि स्थानीय पेम्बा शेर्पाले आफूले भवन बनाउदाको क्षाण सुनाउँदै भन्नुभयो– ‘बर्थिङ सेन्टर सहितको स्वास्थ्य भवन बनाउने प्राविधिक इस्टिमेट अनुसार काम गर्दै गएँ, अष्ट्रियाबाट बुद्धीमाया दिदीले भवन बनाउन आवश्यक पर्ने ५८ लाख २३ हजार पाँच सय २५ रुपैयाँ रकम पठाइदिनुभयो ।, उहाँकै सहयोगले गर्दा अहिले हामीले यो भवन पाएका छौँ ।’ बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवन बने पछि त्यहाँ आवश्यक औजर तथा औषधी खरिदको लागि पनि बुद्धीमाया सहितको टोलीले पाँच लाख बराबरको सामाग्री खरिद गरिदिएको पेम्बा शेर्पाले बताउनुभयो ।

समाजसेवी बुद्धीमाया शेर्पाको सहयोगमा यस अघि भूकम्पले भत्काएको महालङगुर माविमा ३० लाख बराबरको लागतमा एउटा भवन समेत बनेको छ । शेर्पाले उक्त विद्यालयमा अध्ययनर कम आर्थिक अवस्था भएका पाँच जना विद्यार्थीलाई प्रत्येक वर्ष प्रति विद्यार्थी बीस हजारका दरले छात्रबृत्ति समेत दिदैँ आउनुभएको छ ।

व्यक्तिको सहयोगमा बनेको भवन सरकारलाई हस्तान्तरण

समाजसेवी शिव श्रेष्ठ र बुद्धीमाया शेर्पाको सहयोगमा बनेको बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवन एक कार्यक्रमको आयोजना गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेतको प्रमुख आतिथ्यता तथा वडा नम्बर १ का वडाध्यक्ष एवं गुम्देल स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नुर्वु शेर्पाको अध्यक्षतामा उक्त भवन हस्तान्तरण गरिएको हो ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै भवन बनाउनको लागि सहयोग गर्नुहुने समाजसेवी बुद्धीमाया शेर्पाले ग्रामिण भेगमा अत्यावश्यक बर्थिङ सेन्टर भएर मात्रै नहुने भन्दै त्यसको दीगो व्यवस्थापनको लागि समुदाय र स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले भवन निर्माण भएसँगै त्यहाँ तत्काल आवश्यक सामाग्रीको व्यवस्थाप गरिएको र आगामी दिनमा पनि बार्थिङ सेन्टर संचालनमा ल्याए पछि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउनको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले गुम्देलका महिलाहरुले सुत्केरी हुँदा भोग्नु परेको समस्यालाई ध्यानमा राखेर भवन बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदैँ बर्थिङ सेन्टर चलाउनको लागि स्थानीय सरकारले दीगो व्यवस्थापनको योजना सहित अगाडी सार्ने बताउनुभयो । भवन हस्तान्तरण कार्यक्रममा भवनको बनाउन लागि आर्थिक सहयोग गर्ने अष्ट्रिया नागरिक DR.Chrita and Reimund Leodolter समेत सहभागिता रहेको थियो ।

बर्थिङ सेन्टरलाई निरन्तरता दिन स्थानीयनै जिम्मेवार हुनुपर्छ: श्रेष्ठ

गुम्देलका स्थानीयले भोग्दै आएको समस्या समधानको लागि ठूलो मेहनत गरेर सहयोग जुटाएर बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवन बनाउन आफूहरु सफल भएको सुनाउँदै समाजसेवी शिव श्रेष्ठले गाउँमा बर्थिङ सेन्टरलाई निरन्तरता दिनको लागि स्थानीयहरुनै बढी जिम्मेवार हुनु पर्ने बताउनुभयो ।

बर्थिङ सेन्टर चलाउनको लागि आवश्यक डाक्टर, त्यहाँ आवश्यक औजर, औषधी लगायतका सामाग्री व्यवस्थापनको लागि स्थानीयले चासो देखाउनु पर्ने उहाँको भनाई रहेको छ ।