छ लेनको सडक निमार्ण कछुवा गतिमा,६ वर्षमा ६० प्रतिशत काम सडकमै पार्किङ


रोशनी भट्टराई, विराटनगर ।

मोरङको रानी–विराटनगर– तथा सुनसरीको इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण कार्य थालेको ६ वर्ष भए पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । काममा ढिलाई, निर्माण कार्यसँगै देखिएका समस्या र डीपीआर तयार गर्दा नै गरिएका गल्तीका कारण निर्माण कार्य अघि बढाउन समस्या भएको हो ।

रानी–विराटनगर–इटहरी–धरान सडक विस्तारको काम आर्थिक वर्ष ०६९÷०७० बाट सुरू भएको हो । पहिलो ठेक्का विराटनगरको बरगाछीदेखि दूध फारमसम्म लगाइएको थियो । तीन वर्षमा सडक बनाइसक्नु पर्नेमा सडक नाला र फुटपाथको काम अझै भएको छैन । आयोजना प्रमुख बद्री शर्माका अनुसार रानीदेखि धरानसम्म ४९ किलोमिटर लामो सो सडकमध्ये पटक पटक गरी ३४ किलोमिटरको ठेक्का लागिसकेको छ ।

जम्मा १० अर्बको सो योजनामा ३४ किलोमिटर बाटो ७ अर्बमा ठेक्का लागेको हो । ठेक्का लागे जति सडकलाई १४ टुक्रा बनाएर विभिन्न निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । बरगाछी–दूधफारमसम्मको सडक निर्माणमा भएको ढिलाईका कारण सो आयोजनाले निर्माणकम्पनी पीए गीताञ्जली, कान्छाराम निर्माण सेवालाई २ करोड ५० लाख जरिवाना गरेको छ । त्यस्तै सोही सडकको नाला र फुटपाथ निर्माण गर्ने कम्पनीलाई समेत जरिवाना गरिएको छ ।

ठेक्का लागेको १४ टुक्रामध्ये इटहरी–तरहरा बाहेकको सडक आगामी असार मसान्तसम्ममा बनाइसक्नु पर्ने हो । तर हालसम्मको कार्यप्रगति हेर्दा ६० प्रतिशत मात्र काम भएको आयोजना प्रमुख शर्माले बताए । हालसम्म ठेक्का लागेको सडक १४ प्याकेजमा भए पनि ठेक्का लिने निर्माण कम्पनीहरू भने तुन्दीरमण, कान्छाराम, गीताञ्जली, ढुकुचु, कालिका र शर्मा कम्पनीले विभिन्न प्याकेजलाई संयुक्त रूपमा ठेक्का लिएका छन् ।

सो आयोजना अन्तर्गत दुहवीमा बुढी नदीमा पुल बनाउने ठेक्का पनि लागिसकेको छ । तरहरादेखि धरानको तीनकुनेसम्मको सडक भने टेण्डर आह्वानको प्रक्रियामा गएकै छैन । आयोजना प्रमुख शर्माका अनुसार तरहरादेखि तीनकुनेसम्म जंगल क्षेत्र पर्ने हुँदा रूख कटानका लागि वनको स्वीकृति चाहिने भएकाले सोका लागि प्रक्रिया अघि बढाइएको र वनको स्वीकृति पाएपछि मात्रै टेण्डर प्रक्रिया अघि बढ्ने छ । सडक निर्माणको ठेक्का तरहरासम्मको लागेपनि इटहरी बजारमा झण्डै आधा किलोमिटर जति सडकको दायाँ–बायाँ घरहरू भत्काउन बाँकी नै छ ।

त्यस्तै दुहबी बजारको एक किलोमिटर क्षेत्रका घरहरू के गर्ने भन्ने अझसम्म निर्णय नै भएको छैन । सडकको चौडाई सरदर ९८ दशमलव ४ फिट भए पनि दुहवी बजारमा भने ५४ फिट मात्र छ । त्यहाँका घरहरू भत्काउन के गर्ने भन्ने निर्णय नै नभएको आयोजना प्रमुख बताउँछन् । त्यसैगरी ठाउँठाउँमा विजुली र टेलिफोनका पोलहरू सार्ने, खानेपानीको पाइप सार्ने आदि काम पनि गर्न बाँकी नै छ । सडकको विस्तृत प्रतिवेदन बनाउँदा इटहरी दक्षिणतर्फ बग्ने ट्यांग्रा खोलालाई के गर्ने भन्ने कुनै उल्लेख नै गरिएको छैन । जसका कारण सो क्षेत्रको सडक निर्माण कार्यले गति लिन सकेको छैन ।

सडकमै पार्किङ

निर्माण भएको सडक यति बेला ट्रक, ट्यांकर, कन्टेनर आदिको पार्किङस्थल भएको छ । विराटनगरस्थित नेपाल आयल निगमको डिपो अगाडि र रानीक्षेत्रमा सडक नै ढाक्नेगरी गाडी पार्किङ गर्ने गरिएको छ ।

सडक सुशासन अन्तर्गत १ नम्बर प्रदेश सरकारले त्यस्ता कामलाई रोक लगाउनु पर्ने हो । तर कार्वाही नहुँदा बनेको सडकमा पनि उपभोक्ताले त्यसको सहज रूपमा प्रयोग गर्न पाइरहेका छैनन् । सडकमा पार्किङ हटाउन विभिन्न सम्बन्धित ठाउँहरूमा पटक पटक पत्राचार गर्दा पनि कसैले ध्यान नदिएको आयोजना प्रमुख बताउँछन् । हाल निर्माण भैरहेको सडक ठूला गाडीको दुई चक्काको १० टनसम्म लोड थाम्न सक्ने हो । तर कति टन क्षमतासम्मको लोड बोक्न दिने भन्ने विषयमा कसैले ध्यान दिएको छैन । सडकको नाला पनि फोहोर जम्मा गर्ने ठाउँ जस्तो मात्र भएको छ ।