विद्युत महशुल नबुझाउने लाईन कटान सुरु


रोशनी भट्टराई, विराटनगर ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महशुल समयमा नबुझाउने ग्राहकहरूको लाइन धमाधम काट्न थालेको छ । त्यसरी लाइन काटिनेमा उद्योगदेखि अस्पतालसम्म छन् । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार सो कार्यालयले विराटनगर जुट मिल, रेलवे कार्यालय, कोशी अस्पताल जस्ता संस्थाले समयमै महशुल नतिरेर बक्यौता धेरै भएपछि लाइन काट्न सुरू गरेको छ ।

विराटनगर जुट मिलको भने तीन महिना अघि नै लाइन काटिएको हो । विराटनगर जुट मिलले मिलतर्फको मात्रै ९६ लाख ६७ हजार महशुल तिर्न बाँकी छ । त्यस्तै क्वाटरमा दिएको लाइनको २ लाख २२ हजारसमेत गरेर सो मिलसँग प्राधिकरणले १ करोड जति महशुल लिन बाँकी छ । त्यस्तै कोशी अस्पतालले २८ लाख बराबरको महशुल तिर्न बाँकी छ । सो अस्पतालको विद्युत लाइन गत असारमै काट्न खोज्दा स्वास्थ्यसचिव रामप्रसाद थपलियाले फोन गरेर रोकेका थिए । त्यसको लगत्तै अस्पतालले १ करोड रूपैयाँ तिरेको थियो । अहिले फेरि २८ लाख बराबर महशुल पुगेको प्राधिकरणले बताएको छ ।

रेलवेले ५ लाख १९ हजार ९ सय ३० रूपैयाँ महशुल तिर्न बाँकी छ । विद्युत प्राधिकरणको विराटनगर वितरण कार्यालय अन्तर्गत ६७ हजार ६ सय ६१ ग्राहक छन् । विराटनगर महानगरपालिका, जहदा, कटहरी, बुढीगंगा र ग्रामथान गाउँपालिका विराटनगर वितरण कार्यालय अन्तर्गत पर्दछन् । मासिक २४ करोडको हाराहारीमा विराटनगर वितरण कार्यालयले महशुल उठाउँदै आएको छ । विराटनगर वितरण कार्यालयले रानी सबस्टेशन र टंकी सबस्टेशनबाट ११ केभी र ३३ केभी मार्फत विद्युत आपूर्ति गर्दै आएको छ ।

उच्चतम विद्युत माग भएका बखत विराटनगर वितरण कार्यालय अन्तर्गत ५६ मेगावाट विद्युत खपत हुने गर्दछ । सो कार्यालयले महशुलमा कडाई गर्नुका साथै विद्युत चुहावट घटाउन पनि अभियान थालेको छ । आर्थिक वर्ष २०७४/०७५ मा विद्युत चुहावट १२ दशमलव ८६ प्रतिशत रहेकोमा अहिले चुहावट प्रतिशतलाई ९ दशमलव ६८ प्रतिशतमा झारेको सो कार्यालयका प्रमुख सिंहले बताए । उनी विराटनगरको प्रमुख भएर आएपछि आफ्नो सेवा क्षेत्रभित्र ९७ वटा नयाँ ट्रान्सफरमर जडान गर्ने काम भैसकेको छ ।

ग्राहकको बढ्दो संख्यासँगै विद्युत खपत बढे पनि ट्रान्सफरमरको क्षमता नबढाउँदा क्षमताले नभ्याउने गरेकाले बारम्बार लाइन जाने गरेको थियो । प्राधिकरणले हालको ७४ दशमलव ४ एमभीए क्षमतालाई दोब्बर बनाउनुका साथै नयाँ पोल र नयाँ तार फेरेर पटक पटक विद्युत जाने समस्यालाई कम गर्ने प्रयास गरिरहेको छ । विराटनगर क्षेत्रमा एक वर्षमा सरदर सात प्रतिशतका दरले विद्युतका ग्राहक बढिरहेका छन् ।