उद्योग वाणिज्य महासंघमा विधान संशोधन पेचिलो बन्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

विशेष साधारण सभा शुरू हुने मिति नजिकिँदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधनको विषयलाई लिएर विवाद शुरू भएको छ। कार्तिक २९ गते महासंघको विशेष साधारण सभा हुँदैछ। महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई संशोधन गर्नुपर्ने र गर्न नहुने पक्षमा महासंघ नेतृत्व विभाजित हुँदा विवाद बढेको हो।

पूर्वअध्यक्षहरू विधान संशोधन संशोधन गर्न नहुने पक्ष छन्। तर, विद्यान संशोधान समितिका संयोजक एवम् पूर्वअध्यक्ष चण्डीराज ढकाल र वर्तमान अध्यक्ष भवानी राणा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान हटाउनुपर्ने पक्षमा रहेकाले विवाद देखिएको छ। व्यक्ति विशेषलाई हेरेर पटक–पटकविधान संशोधन गर्दा महासंघको अस्तित्व खतरामा पर्ने भन्दै पूर्वअध्यक्षहरू विधान संशोधनको विपक्षमा देखिएका हुन्।

महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने पद्दतिले जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई अध्यक्षबाट उचित सहयोग नपुगेको साथै व्यवहारमै उपेक्षा गरेको भन्दै अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनुपर्नेमा जोड दिँदै आएका छन्।

महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघमा बनेका विभिन्न कार्यसमिति र अध्यक्षसमेतको आन्तरिक व्यवहार अनुदार रहेको आरोप लगाउनुभयो। उद्योग वाणिज्यको विकास गर्ने महासंघका एजेन्डा के छन् स्पष्ट गर्नुपर्ने बेला आएको छ। महासंघको नीति र कार्यान्वयनमा कहँँ कमजोरी भए भन्ने विषयमा विश्लेषण गर्दै जिम्मेवारी लिनुपर्ने धारणा राजकर्णिकारले बताउनुभयो।

‘भवानी राणा संशोधित विधानका आधारमा वरिष्ठ उपाध्यक्ष्ँबाट स्वतः अध्यक्ष बन्नुभएको हो। अहिलेको विधान बनाउन चण्डीराज ढकालले नै भूमिका खेल्नुभएको थियो। अहिले वरिष्ठ उपाध्क्ष शेखर गोल्छासँग सम्बन्ध बिग्रिएपछि उहाँलाई रोक्न विधान संशोधन गर्ने खेल भएको छ।’

महासंघका एक पूर्वअध्यक्षले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने–‘व्यक्ति–व्यक्तिलाई हेरेर विधान संशोधन गर्न हुँदैन। यहाँ पात्रभन्दा पनि प्रवृत्तिमा विकृति आएको छ।’महासंघको विधान संशोधनका निम्ति करिब दुई दर्जन बुँदा अगाडि सारिएको भए पनि अहिले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने बुँदा संशोधनको विषयले बढी चर्चा पाएको छ।

महासंघ अहिले निजी क्षेत्रको समस्या बोक्ने छाता संगठन भन्दा व्यक्ति विशेषको एजेन्डा बोक्ने कम्पनीका रुपमा रुपान्तरण हुन थालेको ती पूर्वअध्यक्षको आरोप छ।महासंघलाई एक ढिक्का बनाइराख्ने हो भने अहिलेको नेतृत्वले अत्यान्तै संवेदनशील भएर अगाडि बढ्नुपर्ने सुझाव दिँदै उनले भने–‘अहिलेकै प्रवृत्ति दोहोर्याउने हो र अमुक व्यक्तिका इन्छा पूरा गराउन महासंघलाई प्रयोग गर्ने हो भने भोलिका दिनमा महासंघ सिंगो निजी क्षेत्रको छाता संगठन नरहन सक्छ।’ हाल महासंघमा ९६१ एसोसिएट, वस्तुगत १०२, प्रदेश ७, जिल्ला–नगर ११२ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २० सदस्य रहेका छन्।