विश्वबसोबास दिवस र विश्व सहरी दिवसः एकै दिन मनाइयो

घरेलु फोहोरको दिगो व्यवस्थापनमा प्रबिधिको प्रयोग आवश्यक


चन्द्रमणि भट्टराई, काठमाडौं ।

यस बर्ष बिश्व बसोबास र सहरी योजना गरी दुईवटा दिवस एकै दिन मनाइएको छ । हरेक बर्षको अक्टोवर २ तारिख मनाउनु पर्ने बसोबास दिवस र अक्टोबर ३१ तारिक मनाइने पर्ने विश्व सहरी दिवसलाई संयोजन गरेर आज कार्यक्रम मनाइएको हो । यसपछि नोभेम्बर ८ तारिखका दिन यसै प्रकारको अर्को दिवस बिश्व सहरी योजना दिवस आउँदैछ ।

दिवसका अवसर पारेर राजधानीमा अग्रणि प्रबिधिबाट फोहोरबाट मोहोर बिषयक कार्यशाला आयोजना गरिएको थियो । कार्यशाला उद्घाटन गर्दै सहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले — फोहोर उत्पादनसँग व्यवस्थापन प्रणाली नजोडिएकाले जति प्रयत्न गरे पनि समस्या जहाँको त्यहीँ रहेको धारणा राख्नुभयो । बिकसित मुलुृकमा फोहोर सामान बस्तु उत्पादन गर्दा त्यसको प्रयोगपछि बाँकी रहने बस्तुको व्यवस्थापन प्रणालीका बिषयमा कार्यक्रम बनाइएको हुन्छ तर नेपालमा त्यस्तो भएन । सामान उत्पादन गर्ने उत्पादनलाई प्रयोगमा नआएको बस्तु फालिँदा पनि ख्याल छैन । फोहोरको दिगो समाधान नहुनुको एउटा कारण यो हो । उहाँले अर्को कारण देखाउँदै भन्नुभयो — उचित प्रबिधि छनौट गरेर कार्यान्वयनमा ल्याउन नसक्नु अर्को कारण हो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनको प्रसङ्ग उठाउँदै भन्नुभयो — क्षेत्राधिकार बाझिएकाले मन्त्रालयलाई पनि काम गर्न गाह्रो छ । बञ्चरे डाँडाको पूर्वाधार बनाएर ल्याण्डफिल्ड साइट बनाउने काम गरिरहेका छौं तर अहिलेसम्म यसलाई प्रबिधिमैत्री बनाउने बिषयमा सोच छैन ।

सोही अवसरमा बोल्दै मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भन्नुभयो — हामीले पैसा तिरेर फोहोर किनिरहेका छौं । पैसा तिरेकोमध्ये कति फोहोर हो, किन्नेबेलामा नै सोचेर व्यवहार गर्ने हो भने व्यवस्थापनको गतिलो काम त्यहीँबाट शुरु हुन्छ । व्यत्तिःको आचरणमा परिवर्तन आएसँगै श्रोतमै घट्ने वा प्रयोग गरेपछि वातावरणमै मिसिएर सकिने फोहोरको मात्रा घट्दै गएको छ । त्यसैले चिन्ता बढेको हो । कार्यक्रममा सहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलालले — वातावरणमैत्री ल्याण्डफिल्ड साइट बनाउँछौं भन्दा समुदायले बिश्वाश नगरेकोले काम अघि बढाउन कठिन भएको बताउनुभयो । काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडाको पूर्वाधार आउँदो मंसिर १ गतेसम्ममा सक्ने योजना थियो । त्यो करीब २० दिन लम्बिने छाँट छ । उहाँले थप्दै भन्नुभयो — काठमाडौं बाहिर साइट बनाउन खोजेको जनताले बिश्बाश नै गरेनन् । ठाउँमा बिवाद भएपछि काम अघि बढ्नै सकेन ।

नेपालको परम्परागत फोहोर व्यवस्थापनका लागि प्रबिधि भएर मात्र पनि हुँदैन । यहाँको आवश्यकता अनुसारको प्रबिधि चाहिन्छ । त्यसलाई परिचालन गर्न उपयुक्त नीतिगत प्रबन्ध हुनुपर्छ, कार्यशालाका मुख्य बक्ता मनोहर भट्टराईले प्रबिधि प्रयोग गरेर तथ्याङ्क संकलन गरेपछि कार्यक्रम तर्जुमा गर्ने आधार बन्ने बताउनुभयो । त्यस्तै खाली सिसी डटकमकी संस्थापक आयुषी के. सी. ले प्रभावकारी साना कार्यक्रमको ठूलो प्रभाव पर्ने बताउनुभयो ।

कार्यशालामा भुषण श्रेष्ठले फोहोर व्यवस्थापनका लागि सृजनात्मक सूचना प्रबिधि प्रणालीको प्रयोग, दर्पण पुडासैनीले सूचना संकलन र तथ्य बिश्लेषणका लागि ड्रोन प्रबिधिको प्रयोग र करुणा अधिकारीले बिपद्जन्य फोहोर व्यवस्थापनमा प्रबिधि बिषयक प्रस्तुतकरण गर्नुभएको थियो । कार्यशालालाई पोखरा महानगर, हरिवन नगरपालिका, नेपाल नगरपालिका संघलगायतका संघसंस्थाहरुसँग भिडियो कन्फरेन्समार्फत सहभागी गराइएको थियो ।

कार्यशालामा फोहोरको दिगो व्यवस्थापनका लागि उपयुक्त प्रबिधिको प्रयोग गर्नु पर्ने, फोहोर व्यवस्थापनको कामलाई रोजगार दिने क्षेत्रका रुपमा हेर्नुपर्ने, यसले जनस्वास्थ्य र वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले प्राथमिक कामका रुपमा कार्य सम्पन्न गर्नुपर्ने, यसभित्र भएका औपचारिक र अनौपचारिक पक्षलाई छुट््याएर हेर्नुपर्ने, फोहोर व्यवस्थापनका लागि स्थानीय तहको शासकीय क्षमता बढाउनु पर्ने, फोहोरको उत्पादनमा कमी गर्ने, उत्पादित फोहोरमध्ये जैबिक र अजैबिक फोहोर छुट्याउनु पर्ने, फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका पक्षलाई कतै अन्तरसम्बन्धित बनाएर त कतै छुट््याएर काम गरिनुपर्ने सुझाव प्राप्त भएका थिए । यस प्रकारको काम गर्दा प्रबिधिलाई अबलम्बन गर्न सकियो भने व्यवस्थापनमा लागत घट्ने उहाँहरुको भनाइ थियो ।

विश्व बसोबास दिवस सन् १९८५ मा संयुक्त राष्ट्र संघको महासभावाट स्वीकृत भएपछि मनाउन थालिएको दिवस हो भने विश्व सहरी दिवस यसै महिनाको ३१ तारिखका दिन मनाइन्छ । यस बर्ष बसोबास दिवसको नारा (फ्रन्टियर टेक्नोलोजिज एज एज एन इनोभेटिभ टुल टु ट्रान्सफर्म बेस्ट टु वेल्थ) अग्रणि प्रबिधिबाट फोहोरबाट मोहोर रहेको छ भने सहरी दिवसको नारा इनोभेसन्स एण्ड बेटर लाइफ फर फ्युचर जेनेरेसन रहेको छ । आउँदो दिवस अर्थात् सहरी योजना दिवस सन् १९४९ मा प्राध्यापक कार्लोस मरिया डेला पाउलेराले अगाडि बढाउनु भएको अवधारणामा आधारित दिवस हो । यी सबै ३ वटै दिवसको लक्ष्य — सुरक्षित, व्यवस्थित र योजनावद्ध बिकासको आवश्यकतालाई समुदायमा वोध गराउनु रहेको हो ।