भारत जाने बसमा विचौलिया र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज


यमलाल भुसाल, बुटवल ।

बुटवलबाट भारतका विभिन्न स्थानमा ट्राभल एण्ड टुर्स मार्फत संचालन गरिएका बसमा विचौलिया राख्ने काम र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको छ ।

बुटवलबाट भारतका विभिन्न स्थानका लागि जाने बसहरुका विचौलिया र कमिशनले यात्रुलाई सास्ती दिने गरेको जन गुनासो आएपछि उक्त कार्य शुक्रवार देखि पुर्ण रुपमा बन्देज गर्ने गरि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पहलमा यस क्षेत्रमा संचालित ट्राभल एण्ड टुर्सहरुको भेलाले उक्त निर्णय गरेको हो ।

भेलाले यात्रु खोज्ने नाममा ट्राभल एण्ड टुर्स व्यवसायीले राख्दै आएका गाईडलाई पनि शुक्रवार देखि नै हटाउने निर्णय गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

त्यसै गरि बुटवलवाट भारतको दिल्ली जाने बस दिउसो ३ वजे भित्र र पंन्जाव जाने बस दिउसो १२ वजे भित्र अनिवार्य रुपमा छुटाउने निर्णय पनि गरिएको छ । विगतका दिनमा जथा भावि बस पार्किङ गर्ने यात्रु ओराल्ने गरेकाले अवका दिनमा यात्रु लिएर आएका बसहरु ग्राहकको सुविधा र ट्राफिक व्यवस्थापनमा समस्या नआउने गरि सार्वजनिक स्थानमा ओराल्ने निर्णय भेलाले गरेको संघका महासचिव माधव कुमार खनालले बताउनु भयो । भेलाले गरेका निर्णय कार्यान्वयन भए नभएको अनुगमनका लागि ६ सदस्यीय समिति समेत चयन गरिएको छ ।

समितिमा होटल व्यवसायीको तर्फवाट विष्णु बहादुर अधिकारी, थम्मन भण्डारी र रामु न्यौपाने तथा ट्राभल एण्ड टुर्सका तर्फवाट बाबुराम आचार्य, राम कुमार श्रेष्ठ र रमेश खरेललाई जिम्मेवारी दिईएको संघका प्रथम उपाध्यक्ष बावुराम गौतमले बताउनु भयो ।