परम्परा जोगाउन देउसीभैलो प्रतियोगिता


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा परम्परा जोगाउन भन्दै देउसी भैलो प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडेमीले देउसी भैलो आयोजना गरेको हो । उक्त विद्यालयले विगत एक दशकदेखि देउसी भैलो प्रतियोगिता गर्दै आइरहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संस्कृति हाम्रो पहिचान भएकाले यसको जगेर्ना गर्नु आवश्यक भएको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरुले प्रस्तुत गर्ने प्रस्तुतिहरु देशभक्तिपूर्ण हुनुपर्दछ र सबै जातजातीले आ–आफ्नो भाषा र संस्कृतिको संरक्षण गरी अस्तित्व जोगाउनु आवश्यक छ भन्नुभयो ।

नयाँ पुस्तालाई मौलिक परम्पराबारे जानकारी दिन नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी सबै विद्यालयहरुमा लागू भइसकेको जानकारी दिनुभयो । विद्यालयका प्राचार्य रमेशचन्द्र श्रेष्ठले नेपालको मौलीक संस्कृति र परम्परालाई जिवन्त राख्न यस्तो प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन भक्तपुरका जिल्ला सल्लाहकार कृष्ण के.सी, प्याब्सन, भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी लगायतले विश्व जगतमा प्रतिष्पर्धी विद्यार्थी तयारी गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।परम्परागत शैलीमा देउसी र भैलो खेल्दै ११ विद्यालयका छात्र र छात्राले प्रतियोगितामा भाग लिएका थिए ।

विद्यार्थीहरले परम्परागत पोशाकमा सजिएर देउसी र भैलो गाउदैं प्रतियोगीतामा भाग लिए । आँगनीमा देउसी भैलो आए भन्दै विद्यार्थीहरुले नेपाली मौलिकता झल्किने उक्त प्रतियोगीता मार्फत बालश्रम नगरौं, सरसफाईमा ध्यान दिऔं भन्ने सन्देश समेत दिए । प्रतियोगीमा उत्कृष्ट देउसी भैलो प्रस्तुत गर्दै सनसाइन न्यासन स्कुल, दुधपाटी भक्तपुर प्रथम भएको छ ।

प्रथम स्थान हासिल गरेको विद्यालयले रनिङ्ग शिल्ड प्राप्त गरेका छन् । दोस्रोमा एडभान्स एकेडमी, बोडे भक्तपुर र तेस्रो स्थानमा एभरेष्ट स्कुल, व्यासी भक्तपुर रहेका छन् । प्रतियोगीतामा उत्कृट हुनेहरुलाई प्रमाणपत्र, शिल्ड सहित सम्मान गरिएको आयोजक विद्यालयका प्राचार्य श्रेष्ठले जानकारी दिनुभयो ।