एक लाख घुस लिएका प्रअसहित ५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा


न्युज अफ नेपाल, काठमाडौं ।

वीरगञ्ज महानगरपालिका ३१ बेहवामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसौनीका प्रधानाध्यापकसहित ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्धा दायर भएको छ ।

करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो । विद्यालयका प्रधानध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीविरुद्ध मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ८ स्थित एक चियापसलबाट घुस रकम लिइसकेको अवस्थामा २०७६ साल भदौ २७ गते उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।