साढे तीन अर्बका ट्रान्सफर्मर बेवारिसे अवस्थामा


न्युज अफ नेपाल, हेटौंडा ।

आवश्यक र परीक्षण क्षमता भन्दा बढी परिमाणमा हतारहतार आयात गर्दा करिब साढे ३ अर्ब रुपियाँ मूल्य बराबरका विद्युत् सामग्री नष्ट हुने हो कि भन्ने चिन्ता छ ।

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा खरिद गरेका ट्रान्सफर्मर हेटौंडा–१०, टीसीएनलगायत खुला चौरमा बिनासुरक्षा बेबारिस अबस्थामा राखिएका हुन् । स्थानाभावका कारण जनाउँदै करिब तीन अर्ब रुपियाँ मूल्य तिरेर खरिद गरिएका ट्रान्सफर्मर चौरमा त्यसै थन्काइएका छन् ।

विद्युत् प्राधिकरणले चार वटा सप्लायर्स कम्पनीसँग चालु आर्थिक वर्षका लागि ग्लोबल टेण्डरमार्फत् खरिद गरेको १३ हजार ट्रान्सफर्मरमध्ये करिब ६ हजार ट्रान्सफर्मर सप्लायर्स कम्पनीले हेटौंडामा झारेको छ ।

देशभरका लागि २५ देखि चार सय केभीएसम्मका १३ हजार ट्रान्सफर्मर खरिद गरिएको हो । प्राधिकरणले सानबियन चाइना, टेस्टला इण्डिया र टीबीईए इण्डियाबाट उक्त ट्रान्सफर्मर खरिद गरेको हो ।

३ अर्ब ५० करोडमा खरिद गरिएका ट्रान्सफर्मर हेटौंडास्थित केन्द्रीय भण्डारमा स्थानाभावका कारण खुलाचौरमा अव्यबस्थित तरिकाले असरल्ल पारेर रााखिएको छ । प्राधिकरण र सप्लायर्स कम्पनीले माग र आपूर्तिबीच सन्तुलन नमिलाउँदा यस्तो अबस्था देखिएको हो ।
हिलो र घाँसैघाँसे चौरमा ट्रान्सफर्मर त्यसै राखिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन् । चौरभर ट्रान्सफर्मर थुप्रिने र देशका गाउँगाउँमा भने ट्रान्सफर्मर अभावका कारण बिजुली बाल्न समस्या भएको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

प्राधिकरणको केन्द्रीय वर्कसपमा अनिवार्य परीक्षण गराउनुपर्ने ट्रान्सफर्मर प्राधिकरण आफंैले समयमै परीक्षण गर्न नसक्दा अलपत्र छाडेको छ । केन्द्रीय वर्कसपले दैनिक ३० देखि ४० वटासम्म ट्रान्सफर्मर परीक्षण गर्नसक्ने प्राविधिक बताउँछन् । एकै पटक परीक्षण क्षमताभन्दा बढी ट्रान्सफर्मर हेटौंडामा झारिएकोले खुला चौरमा अलपत्र अबस्थामा छाडिएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण हेटौंडाका एक कर्मचारी भने खुलाचौरमा राखिएका ट्रान्सफर्मर केन्द्रीय भण्डारमा नआएसम्म प्राधिकरणले यसको जिम्मेवारी नलिने सम्झौता रहेको दाबी गर्छन् ।

सबै ट्रान्सफर्मर परीक्षण गरेरमात्र भण्डारणभित्र राखिने हुँदा समस्या भएको उनको भनाइ छ । धेरै ट्रान्सफर्मर एकैपटक सप्लायर्सले झारेकोले परीक्षणका लागि समय लाग्ने भएकोले चौरमा नै राखिएको उनको दाबी छ । प्रयोगशाला परीक्षण सकिन दुई महिनाभन्दा बढी समय लाग्ने बताइन्छ । हेटौंडाका विभिन्न स्थानमा भण्डारण गरिएका ट्रान्सफर्मर १५ केभीएदेखि तीनसय केभीएसम्मका छन् ।
गत आर्थिक वर्षको बजेट भएकोले असार मसान्तसम्म सप्लायर्सले ल्याइसक्नुपर्ने र परीक्षण नगरी कार्यालयभित्र राख्न मिल्ने नभएका कारण चौरमा राख्नुपरेको प्राधिकरणका कर्मचारी बताउँछन् ।