खानेपानी मूलको खोजी दुई गाग्री पानीका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता

0
Shares

दुर्गाप्र्रसाद शर्मा, पर्वत।

दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानी र वडा नं ६ शालिग्रामका बासिन्दाले खानेपानीको समस्या झेलेको वर्षौं भइसकेको छ। दुई गाग्री पानी लिनका लागि दुई घण्टासम्म लाइनमा बस्नुपर्ने र दुई घण्टा टाढा पुगेर बोकेर ल्याउनुपर्ने दैनिकी नै बनेको छ उनीहरूको। ‘नाम रानीपानी, छैन खानेपानी’ उखान नै चलेको छ। रानीपानी र कालीगण्डकी नदी बगेको हेरेर दुई घण्टा लाइनमा बसेर पानी भर्नुपर्ने बाध्यता त्यहाँका स्थानीयसँग छ।

‘दुई गाग्री पानीका लागि दुई घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ,’ बिहादी गाउँपालिका अध्यक्ष टेकबहादुर थापाले भन्नुभया–‘पानीका लागि लाइनमा बस्दा र कुवा खोला धाउँदा नै जीवन बितेको छ।’शालिग्राम गाविसमा २०३६ सालमा युनिसेफको सहयोगमा १७ धारा बनेका थिए। सिंगो गाविसका लागि १७ धाराको पानीले पुग्ने कुरै भएन।

धाराको पानीले नपुगेपछि कुवा र खोला धाउन बाध्यता रहेको अध्यक्ष थापाले बताउनुभयो। ‘काकाकुल बनेर बस्नुपर्ने बाध्यता वषौंदेखि देखिन्छ,’ थापाले भन्नुभया– ‘बृहत खानेपानी योजना बनेपछि समस्या समाधान हुने आशामा छांै।’

शालिग्रामकै जस्तो समस्या रानीपानीको तल्लो भेगमा पनि छ। माथिल्लो क्षेत्रमा ग्रामीण खानेपानी तथा सरसफाइ योजनाबाट ४३ धारा वितरण गरिएको छ भने तल्लो क्षेत्रमा रहेका मूल र कुवा संरक्षण भएका छन्।

यसले खानेपानीको समस्या समाधान नभएकाले नयाँ योजनाको आवश्यकता रहेको स्थानीय कुलप्रसाद पराजुलीले बताउनुभयो। रानीपानी र शालिग्रामको खानेपानी समस्या समाधानका लागि लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण गरिने भएको छ। विगत लामो समयदेखि खानेपानीको अभाव झेलेका स्थानीयवासीको समस्या समाधान गर्न खानेपानी योजना सञ्चालन गर्न थालिएको हो।

सरकारले यस वर्षदेखि शालिग्राम र रानीपानीको खानेपानी योजनाको कार्यान्वयनको लागि बजेट विनियोजन गरेको छ। खानेपानीको समस्या समाधानका लागि प्रतिनिधिसभा सदस्य पदम गिरीको उपस्थितिमा प्राविधिक र स्थानीयवासीको टोलीले दुवै ठाउँको खानेपानीको मुहानको सर्वेक्षण गरेका छन्। गाउँपालिका अध्यक्ष कमल भुसाल, वडाध्यक्षहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीयवासीसहितको समूहले खानेपानीको मूलको प्रारम्भिक अध्ययन गरेको हो।

शालीग्राम क्षेत्र जिल्लाकै खानेपानीको समस्या रहेको वडाको रूपमा परिचित छ।दुवै वडामा लिफ्ट खानेपानीको सम्भावना रहेको उक्त प्रारम्भिक सर्वेक्षणबाट पत्ता लागेको गाउँपालिका अध्यक्ष कमल भुसालले बताउनुभयो।

संघीय सरकारको बजेटमा सञ्चालन हुने दुवै वडाका आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने गरी काम हुने वातावरण मिलाउन सांसद गिरीले स्थानीयबासीसँग अनुरोध गर्नुभएको छ। दुवै योजनाको डीपीआर निर्माण गरी चालू आर्थिक वर्षबाट खानेपानीको आयोजना शुरुआत हुने गिरीले जानकारी दिनुभयो।