सुन ठगी गर्ने पसलेलाई धरौटीमा रिहा, पीडितको बिचल्ली


रोशनी भट्टराई, विराटनगर ।

विभिन्न ब्यक्तिबाट पसलमा राखेको १० लाख बढीको सुन लिएका ब्यक्तिलाई अदालतले छाडेपछि मोरङको बुढीगंगा गाउँपालिकाका एघार जना पीडित बिचल्लीमा परेका छन । उनीहरुले धरौटीमा राखेको सुन लिई ज्वेलर्स संचालकबाट फिर्ता गराइदिन पीडितले माग गरेका छन् ।

जिल्ला अदालत मोरङले पीडकलाई धरौटीमा छाडेपछि आफूहरुको सम्पत्ति डुब्ने अवस्था भएको पीडितको गुनासो छ । बुढीगंगा गाउँपालिका २ स्थित गणेशलक्ष्मी ज्वेलर्सका संचालक जितेन्द्र साहलाई गत असोज १० मा अदालतले रु.२ लाख ५० हजार धरौटीमा रिहा गरिदिएको थियो ।

तर, सम्पत्तिको मूल्य रु. १० लाख रहेको पीडितले बताए । साह धरौटीमा छुटेपछि सुन फिर्ता पाउने वा नपाउने भन्ने झन् अन्योल भएको पीडितको गुनासो गरेका छन् । उनीरुले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्ति डुब्न लागेको भन्दै सहयोगका लागि प्रेस जगतलाई समेत आग्रह गरेका छन् । पीडितमध्येकी नन्दाशर्मा नेपालले ६ तोला सुन धरौटीमा राखेकी बताउदै पीडकलाई कार्वाही गर्न माग गरिन । तर ज्वेलर्स संचालक नै भागेपछि सम्पत्ति डुब्ने अवस्था आएको छ ।

पीडित आशा गुरुङले आफूले राखेको भन्दा कम परिमाणमा सुनको विवरण साहले जिल्ला सरकारी वकिलको कार्यालयले गरेको बयानमा उल्लेख भएको पाउँदा आफूँ छक्क परेको बताइन । उमेश रायले आफ्नी श्रीमती द्रोपती यादवले धितोमा सुन राखेको तर संचालक नै बेपत्ता भएपछि तनाव भएको सुनाए । साहले स्थानीय धरौटीमा राखेको सुन फिर्ता नदिई फरार भएपछि धनकुटाबाट पक्राउ गरी जिल्ला प्रहरी मोरङमा ल्याएर पीडितले नै बुझाएका थिए । साहबाट दीपा तिम्सिना, कल्पना साह, अस्मिता भूजेल, खड्ग कुमार श्रेष्ठ, सिद्धिलाल चौधरी, आशा गुरुङ, नन्दाशर्मा नेपाल, सुमित्रा चौधरी, राधा राजवंशीलगायत ११ जना ठगीमा परेका छन् ।

उनीहरुले संयुक्त रुपमा किटानी जाहेरी दरखास्त दिएपछि साहलाई प्रहरीले मुद्दा चलाएको थियो । ज्वेलर्स संचालकले आफ्नै घरभेटीलाई समेत घरभाडा नदिई ठगी गरेको खुल्न आएको छ । उनले श्रेष्ठसंग रु. १ लाख ४० हजार लिन नक्कली सुनको गहना राखेको समेत बयानमा लेखाएका छन् । पीडितले आफूहरुको सुन फिर्ता हुनुपर्ने माग गरेका छन् ।