अवैध उत्खननमा समातिएका सवारीसाधन बिना जरिवाना छोडिए


रोशनी भट्टराई, विराटनगर ।

अवैध खोला उत्खननको क्रममा सुनसरी र मोरङबाट नियन्त्रणमा लिइएका सवारीसाधन न्युन जरिवाना तिरेर छुटाइएका छन । झुठो विवरणको आधारमा ३ टिपर र एउटा स्काभेटर जरिवाना बिना नै छोडिएका छन ।

विराटनगरको ४ नम्बर वडा र दुहबीको वडानम्बर १२ को सिमाना भएर बग्ने केशलिया खोला किनारमा अवैधरुपमा भरौट उत्खननमा प्रयोग गरिहेको अवस्थामा मोरङ प्रहरीले सोमबार १ दर्जन सवारीसाधन नियन्त्रणमा लिएको थियो । सो क्रममा विराटनगरतर्फबाट ४ वटा ट्रयाक्टर र दुहबीतर्फबाट भरौट खन्न प्रयोग गरिएको एउटा एस्काभेटर सहित ७ वटा टिपर नियन्त्रणमा लिइएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी तथा मोरङका डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरीले मोरङ र सुनसरीतर्फबाट ती सवारीसाधन नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ४ वटा ट्रयाक्टर महानगरपालिकाले थप कार्वाहीकालागि त्यहाँको वडा कार्यालयमा पठाएको थियो । ती ट्रयाक्टरहरुलाई वडा कार्यालयले प्रति ट्रयाक्टर २ हजारका दरले जरिवाना गरेको छ । घटनास्थल भन्दापनि कंचनवारी चौकबाट ट्रयाक्टर नियन्त्रणमा लिइएकाले कम जरिवाना गरिएको वडाध्यक्ष देवेन्द्रराज पोखरेलको भनाई छ ।

वडाध्यक्ष पाखरेलले यस्तो दाबी गरेपनि माटो बोकेर डिलतर्फ आउदै गरेका ट्रयाक्टर चालकहरु सोमबार भागेका तस्वीर क्यामेरमा कैद भएका छन । यसअघि सोहि ठाँउबाट भदौ ९ गते नियन्त्रणमा लिइएका ४ वटा ट्रयाक्टरहरुलाई जिल्ला समन्वय समिति मोरङले प्रति ट्रयाक्टर १५ हजारका दरले जरिवाना गरेको थियो । प्रहरी र पत्रकार सहितको टोली घटनास्थलमा पुग्दा सुनसरीतर्फ एस्काभेटर प्रयोग गरेर नियमविपरीत उत्खनन हुँदै थियो । खोलाको मुल बहाव तथा नजिकै रहेको पुलभन्दा ३ सय १० मिटर उत्तरतर्फ अवैधरुपमा भरौट उत्खनन कार्य जारी थियो ।

त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको ७ टिपर र एउटा एस्काभेटर थप कार्वाहीकालागि प्रहरी मार्फत दुहबी नगरपालिकामा पठाएको थियो । तर दुहबी नगरपालिकाले भने ३ वटा टिपरलाई विना कार्वाही तथा उत्खननमा एस्काभेटर प्रयोग नभएको भन्दै त्यसै छाडेको छ । बांकी ३ टिपरलाई भने ५/५ हजारको जरिवाना गरिएको नगरपालिकाले जनाएको छ ।

घटनास्थलमा संचारकर्मी समेत पुगेको र एस्काभेटर समेत प्रयोग भएको बिषयमा प्रतिप्रश्नगर्दा दुहबी नगरपालिकाका प्रमुख बेद नारायण गच्छदार यसलाई मान्न तयार देखिएनन् । उनले सडक निर्माणमा एस्काभेटर खटिएको दाबी गरे । तर एस्काभेटरले सोमबार टिपरमा लोड गरिरहेको थियो ।