खुसीयालीमा नाचे गाउँले

२३ वर्षपछि योजना सम्पन्न भएको योजनाबाट घरघरमा धारा

0
Shares

 

दुर्गाप्रसाद शर्मा, पर्वत।मेलम्चीको कुरा छाड्ने हो भने गाउँमा बन्ने खानेपानी योजनाहरू सामान्यतया दुई/चार वर्षमा नै पूरा हुन्छन्। तर पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना भने २३ वर्षपछि सम्पन्न भएको छ। घरघरमा धारा आएपछि स्थानीय उपभोक्ता खुसीले छमछम नाचेका छन्।

जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं. ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना अन्ततः २३ वर्षपछि सम्पन्न भएको हो।

खानेपानीको मूलको विवादका कारण २०५३ मा निर्माण शुरू भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो। पछिल्लो समयमा मूलको विवाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसरफाइ परियोजना (दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट योजना निर्माण सम्पन्न गरिएको हो।

निर्माण सम्पन्न योजनाको प्रतिनिधिसभाका सदस्य पदम गिरीले एक समारोहका बीच उद्घाटन गर्नुभयो। उहाँले पर्वत जिल्लाका सबै घरधुरीमा खानेपानीको धारा पुर्याउने लक्ष्य आफ्नो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।

आयोजना सम्पन्न भएपछि दुई वडाका १ सय ९३ घरमा धारा निर्माण गरिएको छ भने विद्यालय, सार्वजनिक संस्था, मन्दिरहरूमा सामुदायिक धारासमेत बनेका छन्।
आव २०४२–०४३ सालमा नै खानेपानीको योजनाको सर्वेक्षण भए पनि निर्माण हुन नसकेको तर २०५३ मा निर्माण शुरू गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताउनुभयो।

‘मुख्य पाइपलाइन, ट्यांकी निर्माण भएपछि मूलको विषयमा विवाद हुँदा ७० प्रतिशत काम पूरा भए पनि त्यसै छाडिएको थियो’, उहाँले भन्नुभयो– ‘सबै क्षेत्रको अथक प्रयासबाट तीन दशक अघिदेखिको सपना बल्ल पूरा गर्न सकेका छौं।’

बर्राचौर र रानीपानीको उपल्लो क्षेत्र पर्वत जिल्लामा खानेपानीको ठूलो समस्या रहेका गाउँ मध्येका हुन्। बिहान एक गाग्री पानी ल्याउनका लागि यहाँका बासिन्दाले आधा घण्टाभन्दा बढी समय लगाउनुपर्ने बाध्यता थियो।

योजना सम्पन्न भएसँगै सबैभन्दा बढी खुसी महिलाहरू भएका छन्। ‘बिहान र बेलुका पानी बोक्ने कुराकै चिन्ता हुन्थ्यो’, उपभोक्ता हीरा केसीले भन्नुभयो– ‘एक महिनासम्म निरन्तर श्रमदान गरेर भए पनि हामीले पानी बोक्ने दुःखको अन्त्य गर्न सफल भयौं।’

खानेपानी योजना १ करोड ४३ लाख रुपियाँको लागतमा सम्पन्न भएको छ। त्यसमध्ये उपभोक्ताले जनश्रमदान र नगद गरी ५० लाखभन्दा बढी खर्च गरेका छन्। खानेपानीको समस्या रहेको बर्राचौरको एउटा भूगोलका बासिन्दाले शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाँकी क्षेत्रमा पनि छिट्टै खानेपानीको सुविधा पुर्याउने लक्ष्य राखिएको बर्राचौर–२ का वडाध्यक्ष ओमबहादुर कुँवर बताउनुहुन्छ।

बिहादी गाउँपालिकाका केही वडामा खानेपानीको अधिक समस्या भएकाले पालिकाले समस्या पहिचान गरी ‘एक घर एक धारा’ निर्माणको काम गरिरहेको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो। जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले खानेपानी समस्या समाधान गर्नका लागि सबै स्थानीय तहले काम गर्ने विश्वास व्यक्त गर्नुभयो।