हातहतियारसहित कुटपिट गरेपछि कर्मचारीले गरे कामकाज ठप्प


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको तिनपाटन गाउपालिकाका कर्मचारीहरुले गाउपालिकाको सम्पूर्ण कामकाज ठप्प पारेका छन् । तिनपाटन गाउपालिकाका सुचना प्रविधि अधिकृत सञ्जय थापालाई स्थानिय ५ जना युवाहरुको समूहले बिहीवार राती हातहतियार सहित कुटपिट गरेको घटना प्रति आपत्ती जनाउदै कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन् ।

गाउपालिकाको प्राधिक शाखाको माथिल्लो तलाको कर्मचारी आवासमा सुतिरहेका थापालाई स्थानिय तिनपाटन –११ का रविन बस्नेत, उमेश कार्की,विशाल लामा,भोज राज दाहाल र तिनपाटन १० का इश्वर कार्की सहितको समुहले निवासमा प्रवेश गरी ज्यान नै लिने गरी भएको हिंस्रक व्यवहार प्रति ध्यानाकर्षण भएको भन्दै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले प्रेस विज्ञाप्ती जारी गरेका छन् ।

गाउपालिकामा बसी दैनिक कामकाज गर्न सुरक्षाको प्रत्यभुति नभए सम्म र दोषी माथि कडा कारवाही नभए सम्म गाउपालिकाको सम्पुर्ण सेवा ठप्प पार्ने शुक्रवार बसेको कर्मचारीहरुको बैठकले निर्णय गरेको उक्त जारी प्रेश विज्ञाप्तीमा उल्लेख छ ।
गाउपालिकाका अध्यक्ष कर्ण मगर र उपाध्यक्ष पदम माया तामाङ गाउपालिका बाहिर रहेकाले अध्यक्ष उपाध्यक्ष आएर सुरक्षाको प्रत्याभुति नगराए सम्म कामकाज ठप्प गर्ने प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो ।गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष काठमाडौं राजधानी तिर रहेको बताइएको छ ।

गाउपालिकाको केन्द्र चकमके बजार स्थित एक होटलमा खाजा खानेक्रममा थापा र युवाहरुविच सामान्य भनाभन भएको र त्यही बिषयलाई लिएर आवासमै आएर हातपात गरेको प्रशासकिय अधिकृत थापाले बताउनुभयो ।