विप्लव समूहलाई अर्को धक्का : बैठकस्थल नै कब्जामा, कमान्ड इन्चार्जसहित २१ जना पक्राउ

0
Shares

नरेन्द्र केसी, दाङ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाविरुद्धको कारबाही अघि बढाउँदै लगेको सरकारले अहिलेसम्मकै ठूलो सफलता दाङमा हात पारेको छ।
प्रहरीले राप्ती ब्युरोको बैठकस्थल नै कब्जा गरी एकै ठाउँमा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। विप्लव नेकपाविरुद्ध कारबाही थालेदेखि माथिल्लो तहको बैठकस्थल नै कब्जा गरी यति धेरै नेताहरू पक्राउ गरेको यो पहिलोपटक हो।

यसअघि माथिल्लो तहका नेताहरू पक्राउ गरे पनि ब्युरो तहकै बैठकस्थल नियन्त्रणमा लिएर नेता कार्यकर्ता पक्राउ गरेको यो पहिलो घटना हो। प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले राजपुर गाउँपालिका–४ स्थित मगरानाबाट उनीहरूलाई पक्राउ गरिएको हो। तीन घरमा सुतिरहेका नेता कार्यकर्तामध्ये दुई घरमा सुतेका सम्पूर्ण नेता कार्यकर्ता पक्राउ परेका छन्।
बाँकी एक घरमा रहेका झन्डै दश जना नेता कार्यकर्ता भने भाग्न सफल भएको स्थानीयबासीले जानकारी दिएका छन्।पक्राउ पर्नेमा सबैभन्दा धेरै दाङका दश जना रहेका छन्। यस्तै रोल्पाका ६, रुकुम पश्चिम र कपिलवस्तुका दुई/दुई तथा सल्यानका एकजना रहेका छन्।

को को परे पक्राउ?

पक्राउ पर्नेमा विप्लवका सहोदर दाइसमेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’सहित २१ जना रहेका छन्। रोल्पाबाट कपिलवस्तुको शिवनगर बसाइ सरेका चन्द जनयुद्धकालदेखि नै सक्रिय हुनुहुन्थ्यो।

यसअघि लुम्बिनी ब्युरो इन्चार्ज रहेका चन्दले पछिल्लो कार्यविभाजनसँगै लुम्बिनी, धौलागिरी र राप्ती ब्युरोसमेत हेर्ने गरी बनाइएको मध्यकमान्ड इन्चार्जको जिम्मेवारी पाउनुभएको थियो। यसअघि २०७४ को चुनावका बेला चुनावविरोधी गतिविधि गरेको आरोपमा काठमाडौं बूढानीलकण्ठबाट पक्राउ परेका चन्द २५ दिनपछि रिहा हुनुभएको थियो।

यस्तै प्रहरीले केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज रोल्पा माडीका केशबहादुर बाँठा ‘सुवास’लाई पनि पक्राउ गरेको छ। यो ब्युरो विप्लव नेकपाको महत्वपूर्ण ब्युरो हो।मुलुकमा राज्य पुनर्संरचना भए पनि विप्लव नेकपाले पुरानै अञ्चलका नामबाट ब्यूरो संरचना सञ्चालन गर्दै आएको छ।

यस्तै पक्राउ पर्नेमा राप्ती ब्यूरो सदस्य एवं कार्यालय सचिव घोराही १६ का सविन पोख्रेल, ब्युरो सदस्य एवं न्याय विभाग प्रमुख तुलसीपुर १९ का रामबहादुर थापा ‘सुन्दर’, दाङ जिल्ला जिल्ला इन्चार्ज राप्ती ५ सिसहनियाँका यामलाल कटुवला (विक्रम), रोल्पा इन्चार्ज सुनिल थापा ६ रोल्पाका सन्तोष सुवेदी ‘प्रयास’, विशेष जिल्ला इन्चार्ज रोल्पा नपा २ रोल्पाका दलबहादुर खत्री, सल्यान इन्चार्ज कुमाख गापा ६ सल्यानका डिल्लीराज शर्मा, दाङ जिल्ला सेक्रेटरी तुलसपुर ८ दाङका प्रदीप ओली, युवा संगठनका केन्द्रीय अध्यक्ष तुल्सीपुर ५ दाङका वविन केसी (पाटन जंगली) र जिल्ला जनपरिषद् दाङका सदस्य एकराज चौधरी रहनुभएको छ।

यस्तै पक्राउ पर्नेमा दाङका १ नम्बर एरिया इन्चार्ज आठबीस नपा २ रुकुम पश्चिमका धनबहादुर बोहरा ‘महान’, पार्टी सदस्य घोराही १७ दाङका तिलक पुन, दलित मुक्ति मोर्चा दाङका अध्यक्ष राप्ती १ दाङका सुरज परियार, जिल्ला जनपरिषद् सदस्य लमही ३ दाङका एकराज चौधरी, रोल्पा जिल्ला सदस्य थवाङ १ रोल्पाका हितप्रसाद रोका, रोल्पा जिल्ला जनपरिषद् सदस्य थवाङ १ रोल्पाका अमित घर्ती, विशेष जिल्ला सेक्रेटरी सुनछरी गापा १ रोल्पाका पुष्टमान घर्ती, रुकुम जिल्ला सदस्य त्रिवेणी ९ रुकुमका जीत क्षेत्री, कपिलवस्तु जिल्ला सदस्य वाँणगंगा नपा ८ कपिलवस्तुका विष्णुबहादुर थापा र पार्टी सदस्य तुलसीपुर १२ दाङका कुलबहादुर ओली रहनुभएको स्रोतले जनाएको छ।

यद्यपि प्रहरीले भने सबैको नाम सार्वजनिक गरिसकेको छैन। विप्लव नेकपाको बैठक चलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले बैठक बसिरहेको अवस्थाबाट २१ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङबाट प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो।

मगराइना ः जहाँ जनयुद्धकालमा
पनि सुरक्षाकर्मी पुगेका थिएनन्

विप्लव नेकपाको बैठकस्थल कब्जा गरी २१ नेता कार्यकर्ता पक्राउ गरेको ठाउँलाई प्रहरीले राजपुर गाउँपालिका–४ मरेठा भनेको छ।त्यसो त घटनापछि यो स्थानलाई मुङ्रेठाखोला भनेर चर्चा गरिए पनि यो ठाउँको वास्तविक नाम मगराइना रहेको स्थानीयले बताएका छन्।

स्थानीयले टेलिफोन सम्पर्कमा दिएको जानकारीअनुसार सात घर मात्रै रहेको जंगलबीचको यो एउटा जनयुद्धकालमा पनि निकै सुरक्षितस्थलका रूपमा तत्कालीन माओवादीले प्रयोग गरेको थियो। उनीहरूका अनुसार जनयुद्धकालमा सरकारी सुरक्षाकर्मी यो ठाउँमा एकपटक पनि पुगेका थिएनन्।

यो ठाउँ गढवाभन्दा झन्डै १६ किलोमिटर टाढा छ। इलाका प्रहरी कार्यालय रहेको गढवा बजारबाट आठ किलोमिटर दुलैया पुगेपछि रोहिनिया खोला हुँदै दक्षिणतर्फ बर्गद्दा भन्ने ठाउँमा पुगिन्छ, जहाँ बुधबार राति ११ बजे प्रहरी भ्यानबाटै पुगेको थियो।

यहाँबाट आधा घण्टा हिडेपछि मुङ्रेठाखोलाको विद्यालयमा पुगिन्छ, त्यहाँबाट पनि एक घण्टाको पैदल उकालोपपछि मात्रै मगराइना पुगिन्छ, जहाँबाट मध्यरातको १ बजे प्रहरीले विप्लव नेकपाका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।

‘राति १२ बजे मुङ्रेठागाउँमा मोटरसाइलको आवाज सुनिएको थियो’, एक स्थानीयले भने– ‘कोही बजार गएका व्यक्ति फर्के होलान् भनेका थियौं तर प्रहरी रहेछ।’ प्रहरीले बर्गद्दामै भ्यान राखेको भए पनि एउटा मोटरसाइकल मुङ्रेठागाउँसम्म पुगेको स्थानीयको भनाइ छ।

त्यहाँबाट एक घण्टा उकालो पैदल हिडेर मगराइना गाउँमा प्रहरी पुग्दा विप्लव नेकपाका नेता कार्यकर्ता तीन घरमा बाँडिएर सुतेका थिए। तीमध्ये दुईवटा घरलाई प्रहरीले घेरा हानेर नियन्त्रणमा लियो भने बाँकी एक घरमा प्रहरी पुग्न सकेन।

प्रहरी पुग्दा विप्लव नेता कार्यकर्ता भर्खरै बैठक सकेर सुतेका थिए। निकै एकान्त र जनयुद्धकालमा पनि सुरक्षाकर्मी नपुगेकाले हुनुपर्छ, उनीहरू सेन्ट्री पनि नराखी सुतेको देखिएको छ। यद्यपि प्रहरी स्रोतले भने बैठकस्थल भन्दा केही तल सेन्ट्री राखेको पाइएकाले उनीहरूलाई झुक्याउँदै अर्को बाटो प्रयोग गरेर बैठकस्थल पुगेको जनाएको छ।

बैठक हुनुभन्दा एक दिनअघि मात्रै नयाँ मानिसको आवत–जावत शुरू भएको प्रहरी कार्यालयमा गोप्य सूचना पुग्यो। सूचनाको आधारमा प्रहरीले सादा पोशाकका प्रहरी खटायो। केन्द्रीय नेताहरू राप्ती ब्यूरो बैठकको लागि आएको र महासचिव विप्लव नै आउन सक्नेसम्मको सूचना प्रहरीले पाएको थियो।

त्यसपछि प्रदेश, जिल्ला, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाका गरी २० जना प्रहरी घटनास्थल पठाइएको थियो। दिउँसोको समयमा गाडी जाने ठाउँबाट झन्डै डेढ घण्टाको पैदल यात्रापछि मगराइना पुग्न सकिने भए पनि रातिको समयमा र निकै गोप्यरुपमा जानुपर्ने भएकाले झन्डै तीन घण्टा पैदल हिँडेर बैठकस्थल पुगिएको प्रहरी स्रोतको भनाइ छ।